ad ad

राजनीति


कांग्रेस र एमालेले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएपछि बाजुरामा मतगणना अनिश्चित

कांग्रेस र एमालेले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएपछि बाजुरामा मतगणना अनिश्चित

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:२९, बाजुरा

बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो। 

निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ।

यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ। कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ। 

आयोगको टोली बाजुरामा 
मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो। आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानबिनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताए। टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए। 

निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताए। 

उनले आयोगबाट छानबिन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .