२०७४ को निर्वाचनपूर्व मधेश प्रदेशमा नेकपा (एमाले) का लागि सबैभन्दा प्रतिकुल परस्थिति थियो। मधेश आन्दोलनको रापताप रहेको समयमा चुनाव हुँदा एमाले मधेश प्रदेशमा नराम्ररी पराजित भएको थियो।
तर यस पटकको निर्वाचनमा परस्थिति फेरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय मधेशमा सक्रियता बढाएसँगै मधेश एमाले अनुकुल बनेको देखिन्छ।
२०७४ मा मधेशका मतदाताले एमालेका नेताहरुलाई स्वीकार गरेनन्। तर यस पटकको निर्वाचन परिणामले मधेश प्रदेशका मतदाताले एमालेलाई अंगीकार गरि सकेको स्पष्ट संकेत देखिएको छ।
अहिलेसम्म मधेश प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्य २३ को निर्वाचन परिणाम आइसकेको छ। अहिलेसम्म सबैभन्दा बढी ७ प्रतिनिधिसभा क्षेत्रमा जित हासिल गरिसकेको छ। २०७४ मा एमालेबाट धनुषा ४ बाट एमालेका रघुवीर महासेठ र सिरहा ३ बाट लीलानाथ श्रेष्ठले मात्रै जित हासिल गरेका थिए।
अघिल्लो चुनावमा तत्कालिन राजपा र अहिलेको लोसपाले मधेश प्रदेशका १० प्रतिनिधिसभा क्षेत्र जितको थियो। तर यस पटक लोसपाले अहिलेसम्म जम्मा ३ प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको छ।
२०७४ मा ९ प्रतिनिनिधिसभा क्षेत्रमा जितेको तत्कालिन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा)ले पनि ३ प्रतिनिधिसभा क्षेत्रमा मात्रै जित निकालेको छ।
त्यस्तै नेपाली कांग्रेसले अहिलेसम्म ५ प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको छ। २०७४को निर्वाचनमा कांग्रेसले मधेश प्रदेशमा ६ प्रतिनिधिसभा क्षेत्रमा जितेको थियो।
२०७४को निर्वाचनमा माओवादी केन्द्रले ५ प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको थियो। तर यस पटकको निर्वाचनमा अहिलेसम्म माओवादी केन्द्रले एउटा पनि प्रतिनिधिसभा क्षेत्र जित्न सकेको छैन।
नेकपा एकीकृत समाजवादी पार्टी र जनमत पार्टीले १/१ प्रतिनिधिसभा क्षेत्र जितेका छन्। त्यस्तै ३ प्रतिनिधिसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन्।
प्रतिक्रिया