ad ad

राजनीति


एमालेमै बसेका भाइले हार्दा एकीकृत समाजवादीबाट दाजुको ‘फड्को’

राजेन्द्र प्रदेशबाट संघमा छलाङ मार्दा ह्याट्रिक गर्नबाट रोकिए सुरेन्द्र
एमालेमै बसेका भाइले हार्दा एकीकृत समाजवादीबाट दाजुको ‘फड्को’

रुपक चौलागाईं
मंसिर ९, २०७९ शुक्रबार ३:१२, काठमाडौँ

गत वर्ष एमाले विभाजित भएर केपी ओली र माधव नेपाल दुई धारमा बाँडिदा शिर्षस्त तहको एक परिवार पनि विभाजित भयो। पार्टी विभाजनसँगै नेताद्वय सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे पनि फरक कित्तामा उभिए। 

सुरेन्द्र नेकपा एमालेका उपाध्यक्ष हुन् भने राजेन्द्र एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन्। लामो समयसम्म एउटै पार्टीबाट राजनीति गरेका यी दाजुभाइ याे निर्वाचनमा भने  फरक-फरक पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने।

दुई दशक लामो संसदीय राजनीतिको अनुभव सम्हालेका यी दाजुभाइका लागि फरक पार्टीबाट चुनावमा भाग लिएको यो पहिलो घटना हो।

पार्टीमात्र होइन, उनीहरुको जिल्ला पनि फरक हो। राजेन्द्रको निर्वाचन क्षेत्र धादिङ–१ हो भने सुरेन्द्रको चितवन–१।

बागमती प्रदेशका बहालवाल मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रले धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा जित निकाले। सुरेन्द्र भने चितवन–१ बाट पराजित हुन पुगे। गत ०७४ को निर्वाचनमा राजेन्द्र प्रदेशसभामा र सुरेन्द्र प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

एमाले विभाजित हुँदा माधव नेपाललाई साथ दिएका राजेन्द्र त्यसपछि सोही पार्टीको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको मुख्यमन्त्री बने। ०७४ मा धादिङ १ (क) बाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र यो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 

उता, ०७४ मा चितवन–१ बाट प्रतिनिधिसभा सदस्य बनेका सुरेन्द्रले भने अहिले भर्खरै जन्मिएको नयाँ दलका उम्मेदवारबाट पराजय भोग्न परेको छ। घण्टी चुनाव चिह्न लिएर चितवन–१ मा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले सुरेन्द्रलाई ७ हजार ५ सय ८१ मतान्तरले पराजित गरेका हुन्। 

अर्थमन्त्रीसमेत भइसकेका सुरेन्द्रलाई यो पटक चितवनबाट दुई पटकसम्मको जित जोगाउनुपर्ने चुनौती थियो। तर, उनका लागि गत ७ असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिह्न भारी पर्‍यो।

उनीहरु दुवै एमालेमा हुँदा पनि माधव नेपाल निकटका नेताहरु मानिन्थे। एमाले विभाजनतर्फ जाँदैगर्दा सुरेन्द्र पनि सुरुमा ओलीको विरोध गर्दै नेपालको समर्थनमा थिए। तर, पछि पार्टी विभाजन हुँदा दाजु राजेन्द्रले नेपालको साथ छाडेनन्। सुरेन्द्र भने १० बुँदे सहमति गर्दै ओलीतिरै ढल्किएका थिए। 

०४८ देखि निरन्तर संसदीय राजनीतिमा राजेन्द्र
यो निर्वाचनमा झण्डै आठ हजार मतान्तरहित निर्वाचित भएका राजेन्द्र यसअघि २०४८, २०५१, २०५६ र २०७० मा धादिङबाटै निर्वाचित भएका थिए। 

एमाले छाडेपछिको पहिलो चुनाव र पार्टीको संगठन पनि बलियो नभएका कारणले पनि यो पटक राजेन्द्रलाई चुनाव जित्नेबारे संशय थियो। संशयकाबीच एमालेका भूमिप्रसाद त्रिपाठीलाई राजेन्द्रले हराए। त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्दा उनले ३५ हजार ९ सय ३४ मत प्राप्त गरे। 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे।

०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मेका राजेन्द्र ०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। 

तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले एक वर्ष भूमिगत र ४ वर्ष ५ महिना बन्दी जीवन बिताएका छन्। राजेन्द्र १० वर्ष शिक्षण पेशमा समेत आवद्ध थिए।

०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएका राजेन्द्र २०५१ मा नेकपा (एमाले)को संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए। 

२०५० मा उनी एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। 

०७० को संविधानसभा निर्वाचनमा राजेन्द्र धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भए। ०७४ मा उनी धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेशसभामा निर्वाचित भएका हुन्।

कुशल संगठक सुरेन्द्र, ह्याट्रिक गर्नबाट रोकिए
सुरेन्द्र पार्टीमा कुशल संगठकका रुपमा चिनिन्छन्। यसअघि २ पटक चितवनबाटै निर्वाचित भएका उनी यो पटकको जितसँगै ह्याट्रिक गर्ने दाउमा थिए। 

जिल्ला केन्द्रित राजनीति गर्न नसकेको अराोप उनीमाथि छ। उनलाई लामो समयसम्म पार्टीले टिकटसम्म पत्याएको थिएन। ०७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–१ बाटै विजयी भएका सुरेन्द्रको ह्याट्रिक सपना भने पूरा भएन। 

०१५ भदौमा धादिङमा जन्मिएका सुरेन्द्र पाण्डे चितवनको राप्ती नगरपालिका ५ भण्डाराका स्थायी बासिन्दा हुन्। उनी २०३१ सालदेखि राजनीतिमा सक्रिय छन्। 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे।

पञ्चायतकालमा भूमिगत भएर विद्यार्थी राजनीति गरेका उनी राजनीतिक आन्दोलनका क्रममा १० वर्ष भूमिगत भए। अर्थशास्त्रमा स्नातकोत्तर गरेका सुरेन्द्र केही समय शिक्षण पेशामा संलग्न थिए। उनले तीन वर्ष नेपाल बैंकमा जागिर खाए।

२०४९ देखि २०७५ सालसम्म उनी नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहे। २०५४ देखि २०६० सम्म राष्ट्रिय सभा सदस्य र पार्टीको सचेतक रहेको, २०६४ देखि २०६८ सम्म संविधानसभा सदस्य र दलको उपनेता भई काम गरेको अनुभव सुरेन्द्रसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .