ad ad

राजनीति


घोराही कब्जा गरेकै दिन दाङबाट उनै माओवादी कमान्डरको संसद् यात्रा

घोराही कब्जा गरेकै दिन दाङबाट उनै माओवादी कमान्डरको संसद् यात्रा

सीताराम बराल
मंसिर ८, २०७९ बिहिबार २१:३४, काठमाडौँ

‘युद्धमा हतियारभन्दा विचारको बढी भूमिका हुन्छ,’ सशस्त्र युद्धकालमा माओवादी नेताहरु भन्ने गर्थे। 

सैद्धान्तिक रुपमा यो कुरा सही नै थियो। तर, समयक्रममा युद्धमोर्चामा विचारभन्दा हतियारको बढी महत्व देखिन थाल्यो। नेपाली सेनाले अभेद्य बंकरसहित ब्यारेकको मोर्चाबन्दी बलियो बनाएपछि यस्तो स्थिति सिर्जना भयो।  

‘विचारको क्षेप्यास्त्र’ हानेर ब्यारेक कब्जा हुँदैनथ्यो, त्यसका लागि प्रभावशाली तोप चाहिन्थ्यो। त्यस्ता तोप माओवादीसँग थिएनन्। 

बलियो बंकरबाट सेना बाहिर निस्कन नसक्ने, माओवादीले ती ब्यारेक कब्जा गर्न नसक्ने– यसले गर्दा युद्ध लम्बिने, युद्ध लम्बिँदै जाँदा माओवादी कमजोर हुने सम्भावना बढेपछि माओवादी अध्यक्ष प्रचण्डले संसदवादी दलहरुसँग संयुक्त आन्दोलन र शान्ति प्रक्रियाको बाटो रोजे। 

विचारसँगै युद्धमा हतियारको यति महत्वपूर्ण भूमिका हुँदो रहेछ। यदि २०५८ मंसिरमा सैनिक ब्यारेकमाथिको आक्रमणमा सफलता हासिल नगरेको भए माओवादी जनयुद्धको हविगत के हुँदो हो!

दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेक (गुल्म) माथिको सफल आक्रमणमा माओवादीले नेपाली सेनाका सयौँ आधुनिक हतियार कब्जा गर्यो। सोही आक्रमणका कारण सेनासँगको लडाइँ अघि बढाउन माओवादीलाई सहज भयो। 

दाङको त्यही सैनिक ब्यारेकमाथिको बहुचर्चित आक्रमणका फौजी कमान्डरले दाङबाटै विजय हासिल गरेर संसद्–यात्रा सुरु गरेका छन्। 

कस्तो रोचक संयोग– दाङ ब्यारेक कब्जा गरेको ८ मंसिरकै दिन उनी दाङबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका छन्। 

दाङ ३ ‘ख’ बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धनबहादुर मास्की (राजेश) लाई यस्तो रोचक संयोग जुरेको हो। 

ब्यारेक आक्रमणका कमान्डर  
सरकारसँगको पहिलो वार्ता असफल भएपछि माओवादीले ८ मंसिर (२०५८) मा दाङको घोराहीस्थित नेपाली सेनाको भवानीप्रसाद गुल्ममाथि आक्रमण गरेको थियो। आक्रमणमा गुल्मपति नरेश उप्रेतीसहित १४ सैनिक मारिए।   

माओवादी त्यतिबेलासम्म नेपाल प्रहरीले बोक्ने थ्रीनटथ्री हतियारका आधारमा युद्ध लडिरहेको थियो। दाङ आक्रमणमा सफलता प्राप्त गर्दा उसले नेपाली सेनाका एसएलआर, एसएमजी, एलएमजी, जीपीएमजीजस्ता स्वचालित हतियार र रकेट लन्चर तथा ८१ एमएम मोर्टार प्राप्त गर्यो।

सबै गरी करिब तीन सय हतियार माओवादीले दाङ आक्रमणका क्रममा कब्जा गरेको थियो। त्यो आक्रमणपछि माओवादीविरुद्ध सेना परिचालन भयो। तर, आफूले प्रयोग गर्ने हतियार अब माओवादीसँग पनि रहेकाले माओवादीसँग लड्न सेनालाई हम्मे पर्न थाल्यो।

तिनै हतियारको प्रयोग गरी माओवादीले सेनाका दर्जनौँ ब्यारेक र गस्तीहरुमाथि आक्रमण गर्यो। कतिपय आक्रमण सफल भए, कतिपय असफल। 

दाङमाथिको आक्रमण सफल नहुँदा पनि सेना माओवादी विरुद्ध प्रयोग हुन्थ्यो नै। त्यो स्थितिमा सेनाले माओवादीलाई उतिबेलै नामेट पार्नसक्ने सम्भावना रहन्थ्यो। किनभने सैनिक आक्रमणको प्रतिकार गर्न आवश्यक पर्ने आधुनिक हतियार दाङ आक्रमणअघि माओवादीसँग थिएनन्।   

एकातिर दाङमाथिको सफल आक्रमणबाट माओवादीले नेपाली सेनाका आधुनिक हतियार प्राप्त गर्यो, अर्काेतिर सेनालाई पनि पराजित गर्न सकिँदो रहेछ भन्ने मनोबल माओवादी पंक्तिमा सिर्जना भयो। 

त्यही मनोबल र हतियारका बलमा माओवादीले थप चार वर्ष लडाईं लड्यो। सेनाले ब्यारेकमाथिको किल्लाबन्दी बनाएपछि त्यसलाई तोड्ने आवश्यक हतियारको अभावका कारण शान्ति प्रक्रियामा आयो। 

यस हिसाबले माओवादीको सैन्य इतिहासमा दाङ आक्रमण कोशेढुङ्गा थियो।  

दाङ आक्रमणका क्रममा माओवादीले घोराही ब्यारेकका अलावा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय वाणिज्य बैंकसमेत कब्जा गरेको थियो। यी सबै आक्रमणका लागि माओवादीका फरक–फरक छापामार टोली खटिएका थिए।  

दाङको सैनिक ब्यारेकमाथिको आक्रमणका कारण वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) निकै चर्चित भए। तर, उपराष्ट्रपति पुन त्यो आक्रमणका राजनीतिक कमिसार थिए। फौजी कमान्डरको जिम्मेवारी मास्कीलाई थियो। 

समग्र आक्रमणको संयोजन माओवादीको पश्चिम सैन्य हेडक्वार्टरले गरेको थियो, जसको इञ्चार्ज वर्षमान पुन (अनन्त) थिए। इञ्चार्ज पुनले आक्रमणलगत्तै जारी गरेको विज्ञप्तिमा ब्यारेक आक्रमणमा पासाङ ‘राजनीतिक कमिसार’ र मास्की (राजेश) ‘फौजी कमान्डर’ रहेको उल्लेख थियो। 

आक्रमणकै वर्षगाँठमा सांसद 
सेनामाथिको पहिलो सफल आक्रमणका कारण माओवादी लडाकु पंक्ति र नेपाली सेनाभित्र पनि पुन (पासाङ) र मास्की (राजेश) समानान्तर रुपमा चर्चित रहे। तर, त्यसपछि भएका ठूला आक्रमणहरुमा पुनको नेतृत्व हुन थाल्यो। यसले गर्दा पुन बढी चर्चित हुँदै गए। मास्की छायामा पर्न थाले।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी चितवनको शक्तिखोरमा रहेको जनमुक्ति सेनाको ३ नं डिभिजनको कमान्डर थिए। माओवादी सेनाको समायोजनपछिका करिब १० वर्ष भने उनी गुमनाम रहे। 

दाङ ब्यारेक आक्रमणका राजनीतिक कमिसार नन्दबहादुर पुन (पासाङ) अहिले उपराष्ट्रपति छन्, वर्षमान पुन पनि पटक–पटक सांसद र मन्त्री भइसकेका छन्। 

तर, माओवादी शान्ति प्रक्रियामा आएयताका १५ वर्ष धनबहादुर मास्की (राजेश) ले भने कुनै जिम्मेवारी पाएनन्। 

भनिन्छ, नेकपा विभाजन अघिसम्म पार्टीमा कुनै जिम्मेवारी नपाएकाले उनी असन्तुष्ट रहँदै आएका थिए। उनको असन्तुष्टिको फाइदा उठाउँदै रामबहादुर थापा (बादल) पक्षले उनलाई एमालेमा लैजाने प्रयास गरेको थियो। 

माओवादीको पूर्वलडाकु पंक्तिलाई एमालेमा भित्र्याउन सके प्रचण्डलाई कमजोर पार्न सकिने बुझेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यसक्रममा पटक–पटक मास्कीसँग भेटघाट र कुराकानी गरेका थिए। 

तर, असन्तुष्टिका बाबजुद मास्की एमालेमा जान चाहेनन्, ‘उचित जिम्मेवारी’ पाउने आश्वासनपछि उनी माओवादी केन्द्रमै थामिए।   

त्यसपछि उनलाई माओवादी केन्द्रले पोलिटब्युरो सदस्यको जिम्मेवारी दियो। साथै यसपटकको निर्वाचनमा दाङ–३ ‘ख’ बाट उम्मेदवार पनि बनायो। 

उनी उम्मेदवार रहेको प्रदेश सभामा दाङका शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका पर्छन्।

अन्य जिल्लामा प्रभावकारी नभए पनि दाङमा गठबन्धन निकै प्रभावकारी भयो। माओवादी नेतृ रेखा शर्मासँग एमाले महासचिव शंकर पोखरेलले भोग्नु परेको पराजय गठबन्धन प्रभावकारी हुनुको परिणाम हो। 

मास्कीले प्रतिस्पर्धा गरेको दाङ–३ ‘ख’ मा पनि गठबन्धन उत्तिकै प्रभावकारी रह्यो। त्यहीकारण मतगणनाको सुरुवातदेखि नै उनी अग्रस्थानमा रहिरहे। र, बिहीबार (८ मंसिर) बिहान सम्पन्न मतगणनामा २ हजार १ सय ६१ मतअन्तरका साथ विजयी भए। 

विजयी मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गरे, निकटतम प्रतिद्वन्द्वी एमालेका हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत पाए।  

२१ वर्षअघि ८ मंसिर (२०५८) का दिन मास्की दाङको सैनिक ब्यारेकमाथि आक्रमणको अन्तिम तयारीमा थिए। त्यसको ठीक २१ वर्षपछि, ८ मंसिर (२०७९) का दिन उनी सरकार–माओवादीबीचको वार्तास्थल दाङको हापुरेमा आयोजित विजय र्यालीमा अविर–मालाका साथ सरिक भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .