राजनीति


प्रहरीका तीनै पूर्वहाकिम पराजित

प्रहरीका तीनै पूर्वहाकिम पराजित

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १७:४९, काठमाडौँ

काठमाडौं उपत्यकाबाट चुनाव लडेका तीन जनै पूर्वप्रहरी पराजित भएका छन्। 

काठमाडौं क्षेत्र नं. १ बाट पूर्वडीआईजी रमेश खरेल, काठमाडौं ६ बाट पूर्वआईजीपी सर्वेन्द्र खनाल र ललितपुर १ बाट पूर्वडीआईजी नवराज सिलवाल पराजित भएका हुन्।

सिलवाल यसअघि २०७४ को निर्वाचनमा भने विजयी भएका थिए। तर त्यतिबेला जसलाई पराजित गरे अहिले उनैसँग हार्दै पुनः संसद फर्किने सपना यसपटकलाई टुंगिएको छ। 

कांग्रेसका उदय शमशेर जबरा २३ हजार ८९२ मत ल्याएर निर्वाचित भएका हुन्। नेकपा एमालेका उम्मेदवार सिलवालले १९ हजार २७८ मत पाए। यसअघि सिलवालले उदयलाई नै पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका थिए। 

काठमाडौंका २ क्षेत्रबाट पनि संसद छिर्ने पूर्वप्रहरीको सपना पूरा हुन पाएन। फरक फरक पार्टीबाट उम्मेदवार बनेका खरेल र खनाल पराजित भएका हुन्। 

काठमाडौं क्षेत्र नं १ मा नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका रमेश खरेल न्यून मात्रै मत पाए। यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले निरन्तर जित निकाले। 

सिंह ७ हजार १४३ मत ल्याएर विजयी हुँदा खरेलले ३ हजार १२४ मत पाए। उनी त्यहाँ पाँचौँ स्थानमा छन्।

सिंहले राप्रपाका रवीन्द्र मिश्रलाई १२५ मतले पछि पारेका हुन्। त्यहाँ त्यस्रो बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे पाउँदा एमालेका किरण पौडेलले चौथो बढी मत पाए।

पूर्वआईजीपी सर्वेन्द्र खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले रोके। काठमाडौं ६ बाट शिशिरले ११४ हजार २०४ मत ल्याएर विजयी हुँदा झण्डै आधा मत मात्रै सर्वेन्द्रले पाए।

एमालेका उम्मेदवार सर्वेन्द्रले ८ हजार ९११ मत ल्याउँदा निवर्तमान सांसद कांग्रेसका भीमसेन दास प्रधान पनि ८ हजार ८०५ मत ल्याएर पराजित भए। 

पूर्वआईजीपी खनाल असोज ५ मा नेकपा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशको १४ दिनमै संसदको टिकट पाएका थिए। उता सिलवाललाई पनि एमालेले दोहोर्‍याउन चाहेको थियो। खरेल भने आफैं पार्टी खोलेर चुनावमा भिडेका थिए। 

अर्का पूर्वआईजीपी जिततर्फ
अर्का पूर्वआईजीपी भने पहिलो पटक संसद प्रवेशको तयारीमा छन्। पूर्वआईजीपी ध्रुवबहादुर प्रधान नवलपरासी पश्चिम क्षेत्र नं २ बाट जिततर्फ अगाडि बढेका छन्। 

पछिल्लो मत परिणामअनुसार राप्रपाका उम्मेदवार प्रधानले १५ हजार ८९० मत पाउँदा उनका प्रतिस्पर्धि एमालेका दिपेन्द्र कुमार अधिकारीको ८ हजार ३८७ र कांग्रेसका देवेन्द्रराज कंडेलको ८ हजार ३३९ मत छ। 

प्रहरीका पूर्वहाकिमबाट प्रधान संसद बन्न सक्ने सम्भावना धेरै देखिएको छ। उनी २०५३ सालमा प्रहरी महानिरीक्षक भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad