ad ad

राजनीति


प्रतिनिधि सभामा लुम्बिनी प्रदेशका सभामुखको इन्ट्री

प्रतिनिधि सभामा लुम्बिनी प्रदेशका सभामुखको इन्ट्री

रुकुम पूर्वबाट प्रतिनिधि सभामा विजयी पूर्णबहादुर घर्ती


सागर न्यौपाने
मंसिर ७, २०७९ बुधबार १६:६, काठमाडौँ

लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्तीमगरले  प्रतिनिधिसभामा इन्ट्री गरेका छन्। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट रुकुमापूर्व निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वबाट माओवादी केन्द्रका नेता घर्तीले १२ हजार २६२ मत ल्याउँदै सिंहदरबार यात्रा तय गरेका हुन्।

उनले एमाले उम्मेदवार केशवकुमार मल्ललाई हराए। मल्लले ५ हजार २११ मत ल्याए।

रुकुम पूर्वबाट प्रतिनिधि सभामा नयाँ उम्मेदवार बन्ने क्रममा टिकट हात पारेका उनी शालीन नेताका रुपमा चिनिन्छन्। 

जनयुद्धमा सक्रिय घर्तीले पाँच वर्ष सभामुख भएर कुशल रुपमा संसद चलाएको अनुभव संगालेका छन्।  

रुकुम पूर्व प्रदेश सभा 'ख' बाट चुनाव जितेर निर्विरोध सभामुख बनेका उनी प्रतिनिधिसभातर्फको टिकट पाउँदा पनि निर्विकल्प उम्मेदवार बनेका थिए। 

उनी २०३६ सालबाट राजनीतिमा लागेको बताउँछन्। युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका हुन्। 

उनी नेता मात्र होइन कलाकार पनि हुन्। साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्ने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनी २०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बने। 

सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लबलाई नै तत्कालीन मशालको गाउँ कमिटीमा रुपान्तरण गरी उनी तत्कालीन चुनवाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बनेका थिए। 

उनी गीत पनि गाउँछन्। युद्धकै बेला उनले गाएका केही गीतहरु चर्चित छन्। 

राजनीतिक आवद्धता 
उनी २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी बने।

यसैगरी २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्रअन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेत इन्चार्ज पनि भए। 

उनले २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज भएर काम गरे।

२०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी पनि भएका थिए।

त्यसपछि उनी माओवादी त्यागेर मोहन वैद्यले गठन गरेको नेकपा–क्रान्तिकारी माओवादीमा लागे।

उनी २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज र पोलिटव्युरो सदस्य बनेका थिए। 

२०७३ मा रामबहादुर बादलसँगै उनी माओवादी केन्द्रमा फर्किए । त्यसको अर्को वर्ष भएको प्रदेश सभाको चुनावमा रुकुम पूर्व 'ख' बाट विजयी भए। 

यसपटक प्रतिनिधि सभाको चुनावमा उनले शानदार जित हासिल गर्दै लुम्बिनीको प्रदेशसभा भवनबाट काठमाडौंको संसद भवनमा इन्ट्री पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .