राजनीति


जसलाई दुई पटक सांसद बनाए, उनैलाई हराएर सिंहदरबार छिरे महर्जन

जसलाई दुई पटक सांसद बनाए, उनैलाई हराएर सिंहदरबार छिरे महर्जन

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:४८, काठमाडौँ

ललितपुरमा नेवारी समुदायको सबैभन्दा शक्तिशाली संगठन छ, ज्यापु समाज। त्यही समाजको अध्यक्ष भइसकेका प्रेमबहादुर महर्जन आफ्ना राजनीतिक सहकर्मी कृष्णलाल महर्जनलाई भारी मतले पराजित गर्दै सिंहदरबार प्रवेश गरेका छन्।

नेकपा एमालेबाट राजनीति गरेको ४० वर्षमा उनी पहिलो पटक सांसद भएका हुन्।

उनी सोमबार बेलुका सकिएको प्रतिनिधि सभा अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ बाट भारी मतसहित विजयी भएका छन्।

वाम-लोकतान्त्रिक गठबन्धन मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका बलियो उम्मेदवारलाई पनि हराउँदै उनले सिंहदरबारसम्मको यात्रा सुनिश्चित गरेका हुन्।

देभैभर गठबन्धनको घेराबन्दीमा रहेको एमालेबाट सानदार विजय हात पार्ने एमालेको पहिलो नेता बनेका छन् उनी।

प्रेमबहादुरले १५०२५ मत ल्याई विजयी भए।

यसअघिका २०५६ र २०७४ को चुनावमा कृष्णलाललाई सांसद बनाउन मरिमेटेर लागेका प्रेमबहादुरलाई यसपटक भने आफैँ उम्मेदवार बन्ने अवसर प्राप्त भयो।

‘मैले दुई पटक कृष्णलाललाई चुनाव जिताउन भूमिका खेलेको मात्र होइन, मुख्य सारथी नै मै थिएँ,’ प्रेमबहादुरले नेपालखबरसँग भने, ‘संयोग नै भन्नुपर्छ, उनै सहयात्रीलाई पराजित गरेर म सांसद भएँ।’

त्यसो त कृष्णलाल एमाले छोडेर नेकपा एकीकृत समाजवादी नगएका भए यसपटक पनि प्रेमबहादुरले अवसर पाउने सम्भावना कम थियो।

‘सायद यो पटक कृष्णलाल उठ्नु हुन्न थियो होला,’ प्रेमबहादुरले थपे।

संयोग नै भन्नुपर्छ, २०५६ मा सिद्धिलाल सिंह नेकपा मालेमा गएपछि कृष्णलाललाई सांसद उठ्ने अवसर आएको थियो र उनले जितेका पनि थिए।

अहिले कृष्णलालले छोडेपछि प्रेमबहादुरले चुनाव लड्ने मौका पाए र जिते पनि।

तर, प्रेमलालको प्रतिस्पर्धी भने लौरो चिन्ह लिएका सुदिन शाक्य भए। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी भयो। कृष्णलाल चौथो स्थानमा पुगे।

यसपटक चुनाव लड्नै नचाहेका कृष्णलालले नराम्रो पराजय व्यहोरेका छन्, आफैँलाई दुई पटक चुनाव जिताएर सिंहदरबार पठाउने प्रेमबहादुरबाट।

ललितपुर महानगरपालिकाका ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौ वटा वडा । महालक्ष्मी नगरपालिकाका १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ५२ हजार मत खसेको थियो।

‘एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएँ, पार्टी, ज्यापू समाज र सामाजिक सङ्घसंस्थामा बसेर गरेको काम नै मैले जित्ने मुख्य आधार हो,’ उनले भने, ‘यहाँका नागरिकहरुको जीवनस्तर परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad