वाम गठबन्धनका कारण २०७४ मा मनाङ गुमाएको नेपाली कांग्रेसले यसपटक त्यो हारको बदला लिएको छ। कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन्।
निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार उनले २ हजार ५७५ मत प्राप्त गर्दा एमाले उम्मेदवार पाल्देन लोप्साङ गुरुङले २ हजार २४७ मत ल्याएका छन्।गुरुङ ३२८ मतले विजयी भएका छन्। पोल्देन निवर्तमान सांसद हुन् भने टेकबहादुर पूर्वश्रमराज्यमन्त्री हुन्।
मनाङको यो निर्वाचन परिणामसँगै आम निर्वाचन–२०७९ को दोस्रो नतिजा पनि नेपाली कांग्रेसको कब्जामा गएको छ।
यसपटक मनाङका विजेता कांग्रेसका टेकबहादुर गुरुङलाई एमालेका पाल्देनले २०७४ मा पराजित गरेका थिए।
आफूलाई पराजित गरेका निवर्तमान सांसद पाल्देनलाई पराजित गर्दै कांग्रेसका टेकबहादुरले यसपटक बाजी मारेका हुन्।
कांग्रेसका गुरुङ २०७० को आम निर्वाचनमा पनि मनाङबाट निर्वाचित भएका थिए। त्यो बेला उनी श्रममन्त्री पनि बन्न सफल भएका थिए।
तर, २०७४ मा वाम गठबन्धनका कारण पराजित भए।
२०७४ को निर्वाचनका विजेता एमालेका पाल्देनले २ हजार ३ सय मत प्राप्त गर्दा पराजित टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका थिए।
मनाङका दुई प्रदेश सभामध्ये प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भइसकेका छन्। प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
Shares

प्रतिक्रिया