राजनीति


ओलीले देउवालाई भने– बुधबारसम्म राजीनामा स्वीकृत गराएर बिहीबार गभर्नर नियुक्त गरौँला

ओलीले देउवालाई भने– बुधबारसम्म राजीनामा स्वीकृत गराएर बिहीबार गभर्नर नियुक्त गरौँला

सागर न्यौपाने
बैशाख २२, २०८२ सोमबार १५:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो वचनबद्धतामा कायमै रहे नेपाल राष्ट्र बैंकले आगामी बिहीबारसम्म नयाँ गभर्नर पाउने निश्चित भएको छ। योसँगै नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर डा. गुणाकर भट्टलाई पाउनेछ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो। सोहीअनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्। 

यद्यपि, उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भएको थियो। 

नेताहरूका अनुसार सो भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउवाले चासो राखेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समयसीमा दिएको एक नेताले बताए। 

गुणाकर भट्ट

‘हिजो बेलुका उहाँहरूबीच छलफल भयो। प्रधानमन्त्रीले म बुधबारसम्म राजीनामा स्वीकृत गराउँछु, अनि बिहीबार भट्टजीलाई गभर्नर नियुक्त गरौँला भन्नुभएछ’, देउवानिकट ती नेताले नेपालखबरसँग भने।

ओलीको प्रतिबद्धता पाएपछि देउवा बूढानीलकण्ठस्थित आफ्नो निवास फर्किएका थिए।

तथापि, अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिले गभर्नरको नाम सिफारिस गर्नुपर्छ।

तर, समितिको बैठक नै अहिलेसम्म बस्नसकेको छैन। पहिलोपटक पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहेको समिति गठन भएको थियो। 

तर सो समितिको बैठक नै नबसी पूर्वगभर्नर भट्टराईले वैशाख १० गते राजीनामा दिएका थिए।

त्यसपछि समिति नै अपूर्ण भयो, काम गर्नै सकेन। समितिमा रिक्त सदस्य पूर्ति गर्न नै सरकारलाई एक हप्ता लाग्यो। वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई त्यसको रिक्त सदस्यमा नियुक्त गरेको छ।

समितिले पूर्णता पाएको एक हप्ता भइसक्दा पनि अझैसम्म बैठक भने बस्नसकेको छैन। कांग्रेस सभापति देउवाले यही मेसो पारेर प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेका हुन्। 

सोमबार भएको अर्थमन्त्री विष्णु पौडेल र सभापति शेरबहादुर देउवाको भेट

ओलीलाई भेटेको भोलिपल्ट अर्थात् आज सोमबार देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवास बोलाएका थिए। गभर्नरमा सिफारिस गर्ने नामहरूकै विषयमा अर्थमन्त्री पौडेल र देउवाबीच छलफल भएको ती नेताको भनाइ छ।

‘अब प्रधानमन्त्री र अर्थमन्त्री दुवै जनाले कायममुकायम गभर्नर ढुंगानालाई डा. भट्टको राजीनामा स्वीकृत गर्न फेरि निर्देशन दिनुहुन्छ’, ती नेताले थपे, ‘बुधबारसम्म राजीनामा स्वीकृत भएपछि प्रक्रिया अघि बढ्ने देखिन्छ।’

त्यसअनुसार गभर्नरका लागि अर्थमन्त्री संयोजकत्वको समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। तीमध्ये एक जना राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनेछन्।

चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अर्थमन्त्रीसँग जिल्लाका बजेटका विषयमा समेत छलफल भएको बताए।

उनले भने, ‘गभर्नरमा डा. गुणाकर भट्ट नै हो।’

कांग्रेस सभापति देउवाले अर्थमन्त्री पौडेलसँगको भेटपछि सोमबार बिहान भट्टलाई बोलाएर यही हप्ता गभर्नर नियुक्त हुने सूचना दिइसकेको स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad