राजनीति


एनआरएनएका संस्थापक अध्यक्ष महतोको वक्तव्य: मेमा हुने महाधिवेशनमा सहभागी हुन्नँ

एनआरएनएका संस्थापक अध्यक्ष महतोको वक्तव्य: मेमा हुने महाधिवेशनमा सहभागी हुन्नँ

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १०:१२, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले  मे महिनामा हुने भनिएको एकताको महाधिवेशन हुन नसक्ने ठहर गर्दै त्यसमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहने बताएका छन्। 

यसअघि संस्थाको विधानअनुसार अगस्ट पहिलो हप्ता एकताको महाधिवेशन गर्ने तय भएकामा केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन नसकेको गुनासो उनले गरेका छन्। 

‘संस्थाको विधानअनुसार आगामी जुलाईमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्वारा सन् २०२५ को अगस्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौँ। वैधानिक र कानुनी हिसाबले त्यो सम्भव थियो। र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरुरी थियो। यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरूप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन सकेन’, संस्थापक अध्यक्ष महतोले विज्ञप्तिमार्फत भनेका छन्, गैरआवासीय नेपाली संघ संस्था मात्र होइन, अभियान पनि हो। यसर्थ यस अभियानलाई विचलित पार्ने गरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु।’

साथै उनले गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेका छन्। 

यस क्रममा महतोले 'व्यक्तिगत सफलताको जतिसुकै उचाइँमा पुगे पनि यदि देश सम्पन्न छैन भने व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैन' भन्ने उद्देश्यले विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले गैरआवासीय नेपाली अभियान सुरु गरिएको स्मरण गर्दै 'नेपालीका लागि नेपाली' भन्ने मर्मका साथ हजारौँ साथीको मेहनत र पसिनाले उक्त संस्था छोटो समयमै संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई एकबद्ध गर्दै मातृभूमि नेपालप्रति केही गर्नुपर्छ भन्ने जागरण फैलाउन सफल भएको तर पछिल्लो समय यसको मूल मर्ममै प्रहार भइरहेको महसुस भएको पनि उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad