राजनीति


चौथो मधेश आन्दोलन गर्न बाध्य नपारियोस्ः कर्ण

चौथो मधेश आन्दोलन गर्न बाध्य नपारियोस्ः कर्ण

नेपालखबर
असार ४, २०७६ बुधबार ९:१९,

 राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दै आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराए। सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए।

उनले भने, ‘सरकार कुन बेला बोल्ने? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ। संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन। संस्कृति नबसोस्। संसद सुचारु रहोस्। सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गर्या हो। सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ। हामी पनि रोष्टम घेराउ गर्दछौ।’

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाए। सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए। उनले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेश आन्दोलन निम्त्याएको हो?’ भनी प्रश्न गरे।

उनले भने, ‘के सोचेको हो यसले? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो? कसैले माने पनि राष्ट्रिय जनता पार्टी मान्दैन। संसदमा सुन्दैन भने सडकमा जान्छ।’

उनले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराए।

उनले भने, ‘हिजो माईतिघर मण्डलामा गएको थिएँ। सत्तापक्षका माननियहरुले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ । सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहा जाने भन्ने एउटा प्रश्न खडा भएको छ। म सोध्दै छु सरकारमा सम्मिलित माननिय ज्यूहरुलाई तपाईको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन? किन यस्तो विधेयक आयो? मन्त्रिपपरिषद्मा तपाईहरु बस्नुभएको छैन? त्यहाँ पास गरिदिने। र सडकमा गएर फिर्ता हुनुपर्छ भनेर नारा लगाउने? यो दोहोरो चरित्र चल्दैन।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिवद्धताबाट पछि हटेको भन्दै उनले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गरे।

उनले भने, ‘कति कराउने यो गिरिशचन्द्र लालको प्रतिवेदनमा? जनताले बुझ्न सकेको छैन। के रहेछ त्यो भित्र? जनताको सम्पत्ति जनतामा आउनलाई किन ढिलाई? त्यसका लागि पनि यो रोष्टम घेर्ने पर्ने हो कि? सरकारले बोल्छ भने त्यो सत्य हुन्छ। सरकारले बोलेको कुराबाट आफै पछाडि हट्छ भने कसले, कुन जनताले विश्वास गर्ने यो सरकारमाथि?’

उनले लोकतन्त्रको हत्या गर्ने काममा उदत्त नहुन सरकारलाई सुझाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad