समाज


७८ हजार लुट्नकै लागि जंगलमा बाटो ढुकेर युवतीको हत्या

७८ हजार लुट्नकै लागि जंगलमा बाटो ढुकेर युवतीको हत्या

नेपालखबर
असार ४, २०७६ बुधबार ९:४,

फिदिम मंगलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जंगललमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ।

पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो।

उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गरेकी तामाङलाई जंगलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मंगलबार अपराह्न पौने ४ बजे विद्यालयबाट घर फर्कने क्रममा एक शिक्षकले तामाङको शव बाटोभन्दा करीब ३० मिटर तल देखेर प्रहरीलाई जानकारी गराएपछि जोरपोखरीस्थित प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ।

मृतक तामाङको घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो। प्रहरीका अनुसार तामाङले दिउँसो करीब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू  कार्यक्षेत्रमा रहेको जानकारी दिएकी थिइन्। सोही समय आसपासमा उनका एक केटा साथीले उनी बैठकमै रहेको समयमा फोन गरेका थिए। पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ।

यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ। प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ। ‘उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ’, प्रहरी निरीक्षक पौडेलले भने, ‘कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ।'

इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महिनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन्। उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको खुलेको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले रकम सङ्कलन गरेर हिँडेकी तामाङबारे कसैले हत्यारालाई सूचना दिएको वा उनीबारे हत्यामा संलग्नले नियमित पिछा गरेको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले मङ्गलबार रातिदेखि घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धान तीव्र पारिएको जनाएको छ।

हिलिहाङ गाउँपालिकामै यसअघि गत वैशाख २९ गते १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad