ad ad

राजनीति


मण्डले शैलीमा आक्रमणः कांग्रेस, गाउँपालिका केन्द्रको विवादः नेकपा

मण्डले शैलीमा आक्रमणः कांग्रेस, गाउँपालिका केन्द्रको विवादः नेकपा

नेपालखबर
असोज १२, २०७६ आइतबार १४:४२,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल रिसिङ गाउँपालिकाको भवन सिलान्यास गर्न तनहुँ पुग्दा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरुले आफूमाथि आक्रमणको प्रयास भएको बताएका छन्।

नेपालखबरलाई घटनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै नेता रिजालले कार्यक्रम स्थलमा पुग्न नदिनका लागि रुख ढालेर र ढुंगा थुपारेर सडक अवरुद्ध पार्ने काम भएको बताए। ‘रिसिङ जाने क्रममा बाटो अवरुद्ध गर्नका लागि रुख ढालेर र ढुंगा राखेर अवरोध गर्ने काम भयो। कार्यक्रम स्थलमा ढुंगा र बियरको बोतलले हानियो,’ रिजालले भने, ‘उनीहरुले तीन घण्टा अवरोध गरेपनि हामी कार्यक्रम स्थल पुग्यौँ।’

उनले आक्रमणकारीलाई स्थानीय प्रशासनले सहयोग गरेको आरोप लगाए।

रिजाल रिसिङ गाउँपालिकाका भवन उद्घाटन गर्न आइतबार सो स्थानमा पुगेका थिए।

साे घटनालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका कार्यकर्ताहरुले मण्डले शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन्। रिसिङ घटनापछि विज्ञप्ति जारी गर्दै पौडेलले गाउँ पालिकाकाे बैठकले रिजाललाई बोलाउने सर्वसम्मत निर्णय भएको पनि बताएका छन्।

‘गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो’ पौडेलले भनेका छन्, ‘यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो। तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उद्घाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उद्घाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन्।’

पौडेलले नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेको बताए।

पौडेलले सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ चेतावनी दिएका छन्।

गाउँ पालिकाका केन्द्रको विवाद: नेकपा जिल्ला अध्यक्ष

यता, नेकपाले भने घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेको छ। नेकपाका जिल्ला अध्यक्ष केदार सिग्देलले पार्टीगत नभै गाउँपालिकाको केन्द्रमा कहाँ राख्ने भन्ने भन्ने विवादको कारण स्थानीय बासिन्दाले अवरोध गरेको बताए।

‘नेकपा र कांग्रेस कसले गर्‍यो भन्ने होइन। यो गाउँपालिकाका केन्द्र कहाँ राख्ने भन्ने विषयको विवाद हो। गाउँपालिकाका अध्यक्षले सेन्टरमा नभै आफूलाई पायक पर्ने गरी गाउँपालिकाका केन्द्र बनाउन खोजेपछि विवाद भएको हो’ अध्यक्ष सिग्देलले भने, ‘यसमा पार्टीका संलग्नता छैन। स्थानीय बासिन्दाले पायक परेन भनेर अवरोध गरेका हुन्। त्यसमा कांग्रेस र नेकपा दुवैतर्फका मानिस छन्। स्थानीय जनता हुन्।’

उनले आठ वटा वडा रहेको रिसिङको मध्यभागमा पर्ने ढुंगागाडे नभै पोखरी भञ्ज्याङमा केन्द्र बनाउन भवन निर्माण गर्न लागेपछि विवाद रहँदै आएको दाबी गरे।

‘यो पहिलेदेखिकै विवाद हो। मैले पनि शान्तिपूर्ण समस्या समाधानका विभिन्न चरणमा बैठक गरेको हो। यो विवादका शान्तिपूर्ण समाधान हुनुपर्छ,’ सिग्देलले भने, ‘स्थानीय तहका संरचना हुँदा सबै दलले र प्रविधिक समितिले पनि ढुगागाडेलाई केन्द्र बनाउने सिफारिस गरेका थियो। यो विवादको विषय रिजालजीलाई थाहा छ की छैन थाहा भएन। यो केन्द्रका विवाद हो।’

तर कांग्रेसले भने गाउँपरिषदले सर्वसम्मत रुपमा गाउँपालिका भवन निर्माण स्थल तोकेको जनाएको छ। कांग्रेसले सो विषयलाई लिएर नेकपाका कार्यकर्ताहरुले शुक्रबार मात्रै कांग्रेस रिसिङ गाउँ कार्यसमितिको बोर्ड तोडफोड गरेको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .