ad ad

राजनीति


संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई मन्त्री बस्नेतको अपिल

संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई मन्त्री बस्नेतको अपिल

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:१४,

 वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन्।

समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ मन्त्री बस्नेतले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।

संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्युयोर्कमा जारी जलवायु कार्यशिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बिसन फर क्लाइमेट एडप्टेसन एन्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गरेका हुन्।

मन्त्री बस्नेतले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भएको चर्चा गर्दै उनले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने स्पष्ट गरे। ‘जलवायु परिवर्तनले आज सांसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ’, मन्त्री बस्नेतले भने, ‘यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ।’

उनले जलवायु परिवर्तनको असरबाट साना र गरिब मुलुकहरु बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गरे। ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावले आज विश्व नै भयाबह संकटमा छ। त्यसमा पनि गरिब र साना मुलुकहरु बढी प्रभावित छन्। मन्त्री बस्नेतले भने, ‘त्यसका लागि अहिले हामीले गर्दै आएका प्रयास मात्र पर्याप्त हुँदैन। म यो अवसरमा विश्व नेताहरुलाई साझा प्रयासका लागि एकताबद्ध हुन अपिल गर्दछु।’ मन्त्री बस्नेतले जलवायु परिवर्तनमा कम भूमिका भएर पनि त्यसबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न पनि सम्मेलनमा प्रस्ताव गरे।

मन्त्री बस्नेतले राष्ट्रसंघका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आनाद÷प्रदान गर्नुपर्ने बताए। मन्त्री बस्नेतले नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको जानकारी दिँदै २०७६ साललाई राष्ट्रिय वृक्षारोपण वर्षमा रुपमा मनाइरहेको बताए। नेपालले संरक्षणका क्षेत्रमा सामुदायिक वनमार्फत गरेको नमूना कामबाट विश्वले नै सिक्न सक्ने उनको भनाइ थियो।

एसियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको बताए। त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय÷अन्तर्राष्ट्रिय साझेदारहरुसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। उनले पारिस्थितिक प्रणालीमा सुधार ल्याउन स्थानीय समुदायमा आधारित कृषि वन, सिञ्चाई र साना पूर्वाधारजस्ता कार्यक्रममार्फत समुदायको जीवनस्तर उकास्ने प्रकृतिका कार्यक्रमलाई जोड दिइएको उल्लेख गरे।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .