राजनीति


नेकपाको समीकरणमा राष्ट्रपति फ्याक्टर निर्णायक!

नेकपाको समीकरणमा राष्ट्रपति फ्याक्टर निर्णायक!

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ४:१,

संविधानले राष्ट्रपतिलाई पार्टी राजनीतिभन्दा माथि राखे पनि सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारी निर्णायक फ्याक्टर बन्दै गएको चर्चा पार्टीभित्र हुन थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र अप्ठेरो परेपछि राष्ट्रपति भण्डारीकै पहलमा समीकरण फेरिएको निष्कर्ष नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल सूमहको हालै बसेको एक भेलाले निकालेको छ।

नेपालले अध्यक्ष ओलीसँग पार्टीको सचिवालय बैठकमै भनाभन भएर सम्बन्ध चिसिएपछि हालै स्थायी समितिका आफ्नो समूहका सदस्यहरुको छुट्टै भेला राखेका थिए। जसले पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै नेपाल समूहको आगामी रणनीति समेत तय गरेको बुझिएको छ।

नेपाल समूहको भेलामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालबीच निकटता बढेपछि झस्किएको शीतल निवासले त्यसलाई टुटाएर ओली र दाहालबीच नयाँ समीकरण बनाउन निर्णायक भूमिका खेलेको रिपोर्ट गरिएको थियो।

‘शितल निवासमा सबै कुरा टुंगो लगाएर ओली र दाहालबीच शक्ति बाँडफाँट भएको सूचना हामीले पाएका छौं’, नेपाल समूहको बैठकमा सहभागी स्थायी समितिका एक सदस्य भन्छन्, ‘ओली र दाहाललाई साथै राखेर सबै कुरा राष्ट्रपतिले नै टुंग्याउनुभएको रहेछ।’

अध्यक्ष दाहाललाई नेपालसँग मिलेमा एकातिर राष्ट्रपतिबाट राजीनामा दिएर भण्डारी नेकपाको राजनीतिमा आउने र अर्कोतिर आफै पार्टी अध्यक्ष बन्ने चाहना राखेका नेपालले अन्तिम बेलामा साथ नदिने भएकाले राजनीति खतरामा पर्ने अवस्था रहेको सुनाएर ओलीसँग मिल्न ‘बाध्य पारिएको’ विश्लेषण भेलामा गरिएको थियो।

शितल निवासले खेलेको निर्णायक भूमिकाबारे ब्रिफिङ गर्दै नेपाल समूहका ती स्थायी समिति सदस्य भन्छन्, ‘भण्डारी आफै पार्टी राजनीतिमा आउने चर्चा चलाइएपछि अध्यक्ष दाहालले त्यसो हो भने विद्याजीकै रोहबरमा सबै कुरा हुनुपर्छ भन्नुभयो र उहाँकै उपस्थितिमा ओली र दाहालबीच नयाँ सम्झौता भएको हो।’

नेकपा सचिवालयका एक सदस्य भने पहिलेका सम्झौता पालना गर्ने र दाहाललाई कार्यकारी अध्यक्ष बनाउने प्रतिवद्धता ओलीले गरेपछि दाहाल र ओली नजिकिएको बताउँछन्।

‘पुरानै सम्झौता अनुसार अबको एक बर्षपछि ओलीले प्रधानमन्त्री पद दाहाललाई हस्तान्तरण गर्ने अथवा दाहाललाई अहिले नै कार्यकारी अध्यक्ष दिएर ओली प्रधानमन्त्री भैराख्ने भन्ने विषयमा ओलीलाई सहमत गराउन राष्ट्रपति भण्डारीको पनि भूमिका छ’, सचिवालयका ती सदस्य भन्छन्, ‘त्यसैले दाहाल ढुक्क भएका छन्।’

नेकपाका उच्च स्रोतहरूका अनुसार, विद्या भण्डारीले राष्ट्रपतिबाट राजीनामा दिएर पार्टीको राजनीतिमा फर्किन सक्ने हल्ला नेकपाभित्रै चलाउनुमा दाहाललाई दबाब दिने नीतिले काम गरेको थियो। भण्डारीलाई दोस्रो पटक राष्ट्रपतिको उम्मेद्वार बनाउने बेलामा नेपाललाई पक्षमा पार्न पनि यही अस्त्र प्रयोग गरिएको नेपाल समूहको दावी छ।

‘अध्यक्षका आकांक्षी रहेका नेपाललाई चुप लगाउन भण्डारीको त्रास देखाएर राष्ट्रपतिका आकांक्षी बरिष्ठ नेता झलनाथ खनालका पक्षमा उनलाई खुलेर लाग्नबाट रोकिएको थियो’, नेपाल समूहका नेता भन्छन्, ‘त्यही कारण झलनाथ खनालले नेपाल समूहको बैठकमा बेलाबेलामा माधव नेपालप्रति कटाक्ष गरिरहन्छन्।’

वामदवे गौतमलाई ओलीकै समूहमा फर्काउन उपाध्यक्ष पद सिर्जना गर्न पनि भण्डारीकै प्रमुख भूमिका रहेको नेकपाभित्र चर्चा छ।

राष्ट्रपति भण्डारीले अध्यक्ष दाहालसँग मदन भण्डारीको नाम जोडिएको र भावनात्मक विषय पनि भएकाले ‘जनताको बहुदलीय जनवाद’ स्वीकार गरिदिन समेत आग्रह गरेकी थिइन।

दाहालले ‘अहिले पार्टीको कार्यक्रम जनताको जनवाद हो, महाधिवेशनमा छलफल गर्न सकिन्छ’ भनेर सकारात्मक जवाफ दिएपछि वामदेव गौतमले त्यही सन्दर्भमा जनताको बहुदलीय जनवादका बारेमा लेख लेखेका थिए।

जबकी एमाले र माओवादी एकताका बेला ‘जनताको बहुदलीय जनवाद’ छाड्न नसकिने भन्दै नेपालले अडान लिँदा गौतमले ‘एकता भाँड्न खोजेको’ आरोप लगाएका थिए।

प्रधानमन्त्री ओली सिंगापुर गएको बेला अध्यक्ष दाहालले आफ्नै अध्यक्षतामा सचिवालय बैठक राख्नुअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग एक घण्टा छलफल गरेका थिए।

नेपाल समूहका स्थायी समिति सदस्य भन्छन्, ‘नयाँ सम्झौता र समीकरण अनुसार कसरी अगाडि बढ्ने भनेर त्यहाँ पार्टीको आन्तरिक राजनीतिका बारेमै कुराकानी भएको हुनुपर्छ।’

पूर्वएमालेभित्र राष्ट्रपति भण्डारीले हरेक कुरामा भागबण्डा खोजेको र आन्तरिक राजनीतिमा खेलेको बहस हुँदै आएको थियो। उनलाई दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बनाउँदा प्रधानमन्त्री निवास, बालुवाटारमा चलेको सात घण्टा लामो बैठकमा उनका यस्ता गतिविधिका बारेमा खुलेर छलफल भएपछि आइन्दा आन्तरिक राजनीतिमा चासो नदिन सुझाव दिने सहमति भएको थियो।

तर, राष्ट्रपति निर्वाचित भइसकेपछि उनले पार्टी राजनीतिमा खेल्ने क्रम झन् बढाएको नेकपाका नेताहरु बताउँछन्।

ओली प्रधानमन्त्री हुनासाथ उनले थममाया थापालाई मन्त्री बनाउन दबाब दिनेदेखि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिशमा नियुक्त हुने राष्ट्रियसभाका तीन सदस्यमध्ये एकमा आफ्नै स्वकीय सचिव विमला राईलाई सिफारिश गराएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad