खेल


किर्गिस्तानमाथि नेपालको ८–२ को शानदार जित, सावित्राको चार गोल

किर्गिस्तानमाथि नेपालको ८–२ को शानदार जित, सावित्राको चार गोल

नेपालखबर
भदौ २२, २०७६ आइतबार १२:२६,

पहिलो खेलमा आयोजक किर्गिस्तानलाई आइतबार ८-२ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले शानदान जित हात पारेको हो। नेपालको जितमा सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १-१ गोल गरे।

तेस्रो मिनेटमा नै सावित्राले नेपाललाई सुरुवाति अग्रता दिलाएकी थिइन्। विपक्षी गोलरक्षकले गरेको प्रहार डी बक्स नजिकै नेपाली खेलाडीको खुट्टामा पुगेको थियो। नीरु थापाले दिएको पासमा सावित्राले पोस्टको बायाँ क्षेत्रबाट गरेको प्रहार किर्गिस्तानकी गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो।

१५औं मिनेटमा सावित्राले उत्कृष्ट दोस्रो गोल गरिन्। मैदानको मध्यभागबाट पाएको पासमा डी बक्सको बाहिर सावित्राले बल पाएकी थिइन्। सोही स्थानबाट उनको प्रहारले गोलकिपरको माथिबाट जाली चुमेको थियो।

१९औं मिनेटमा डीबक्स बाहिरबाट वान भर्सेस वानमा किर्गिस्तानका खेलाडीले एक गोल फर्काए। २२औं मिनेटमा मैदानको मध्यभागबाट किर्गिस्तानका खेलाडीले प्रहार गरेको सट नेपाली गोलपोस्टको माथिल्लो भागमा लाग्दै फर्किएको थियो। उक्त बललाई डी बक्सभित्र रहेका किर्गिस्तानका खेलाडीले गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।

२५औं मिनेटमा सावित्राको पासमा दीपाले पेनाल्टी क्षेत्रबाट गाल गर्दै पुनः नेपाललाई अग्रता दिलाइन्। ३०औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन्। अनिता बस्नेतले प्रहार गरेको सट किर्गिस्तानका रक्षकलाई लाग्दै डी बक्सभित्र रहेकी सावित्राकोमा आएको थियो। त्यसलाई उनले सहजै पोस्टको दिशा दिइन्।

३४औं मिनेट सावित्राको पासमा अनिताले गोल गरिन्। सावित्राले एक्लै पोस्ट नजिकै पुर्याएको बल अर्कातर्फ रहेकी अनितालाई दिएकी थिइन्। जसमा अनिताले पहिलो टचमै गोल गरिन्। यस्तै ३७औं मिनेटमा अनिताको पासमा निरुले गोल गरेपछि पहिलो हाफमा नेपाल ६–२ ले अघि रह्यो।

यस्तै खेलको ५३औं मिनेटमा सावित्राले पेनाल्टी एरिया भन्दा बाहिरबाट फ्रिकिकमा गोल गर्दै व्यक्तिगत चौथो गोल गरिन्। अन्तिम मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ८–२ को जित दिलाइन्।

नादेझ्दा कपमा नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान भिड्दै छन्। राउन्ड रोविनका आधारमा हुने खेलमा नेपालले अर्को खेल भदौ २३ गते उज्वेकिस्तानसँग र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ। भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि यो प्रतियोगिता खेलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad