सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएका पत्रकार ओम हमाललाई प्रहरीले पुनः पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बुधबार विज्ञप्ति प्रकासित गरी हमाललाई अदालत परिसरबाटै पुनः गिरफ्तारी गरिएकोप्रति आपत्ति जनाएको हो।
भदौ ६ गते पोखरबाट पक्राउ गरिएका जनसञ्चार डटकमका सम्पादक हमाललाई सर्वाेच्च अदालतले भदौ १८ गते रिहा गर्न आदेश दिएको थियो। आदेशको अवज्ञा गर्दै प्रहरीले पत्रकार हमाललाई सोहि दिन साँझ अदालत परिसरबाटै पक्राउ गरेको थियो। महासंघ सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पत्रकार हमाललाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।
त्यसैगरी रेडियो नेपाल दिपायल प्रशारण केन्द्रमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्कासन गरिएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
एकदशक यतादेखि कार्यरत पत्रकारहरुलाई विनाकारण निष्कासन गरिएको घटनाप्रति कडा आपत्ति प्रकट गर्दै डोटी शाखाको अगुवाइमा दिपायलमा भइरहेको आन्दोलनप्रति सरकारले बेवास्ता गरेको महासंघको आरोप छ। निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नबहाली गर्न विज्ञप्तिमार्फत सरकार समक्ष जोडदार माग गरिएको छ।
यसैबिच महासंघले भदौं १८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई भेटी ध्यानाकर्षण गराएको छ।
प्रेस काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै महासंघको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री बाँस्कोटालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो।
प्रतिक्रिया