राजनीति


प्रधानमन्त्री भन्छन्ः बैठक बस्यो, सञ्चारमन्त्री भन्छन्ः परीक्षणमात्रै

 प्रधानमन्त्री भन्छन्ः बैठक बस्यो, सञ्चारमन्त्री भन्छन्ः परीक्षणमात्रै

नेपालखबर
भदौ १२, २०७६ बिहिबार ११:१२,

टेलिप्रिजेन्समार्फत मन्त्रिपपरिषद बैठक भए वा नभएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको मत बाझिएको छ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै टेलिप्रिजेन्समार्फ क्याबिनेट बैठक भएको बताएका छन्। तर, बिहीबार अपरान्ह भएको प्रतिनिधिसभाका बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको बैठक नबसेको बताए।

प्रधानमन्त्री ओलीले ट्विट गदै प्रविधि र प्राविधिकहरुलाई धन्यवादसमेत व्यक्त गरेका थिए। पार्टी अध्यक्षको रुपमा सञ्चालन गर्ने ट्विटरमा अध्यक्ष ओलीले भनेका छन्, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहान्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो। मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद।’

सोही ट्विटलाई कोट गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत पहिलो पटक मन्त्रिपरिषद बैठक टेलिप्रिजेन्सको माध्यमबाट बस्न सफल भएका प्रधानमन्त्रीले धन्यवाद दिएको बताए। त्यसअघि उनले टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्न लागेको भन्दै ट्विट गरेका थिए।

तर, बिहीबार प्रतिनिधिसभाको बैठक सार्वजनिक महत्वका वक्तव्य दिँदै संचार मन्त्री बाँस्कोटले बैठक नै नबसेको बताए। ‘हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौं, त्यसमा कुनै एजेन्डा पनि थिएन र पास पनि गरिएन्, अरु कुराहरुमा पनि हामीले पहिलो प्रयास हो’ उनले भने, ‘टेक्नोलोजीमा गर्न सक्छौ भन्ने कुरा प्रमाणित भयो भनेर भन्ने गरेका छौं। यति कुरालाई लिएर सार्वभौम सत्तामाथि संकट पर्दैन।’

सञ्चारमन्त्री बास्कोटाले भिडियो कन्फरेन्सबाट प्रधानमन्त्रीसँग हाइ हेलो र निर्देशन दिने काम मात्रै भएको बताए।

‘सरकारको प्रवक्ताको हिसावले मैले भिडियो कन्फरेन्सपछि सञ्चार माध्यमहरुलाई बताएको थिइन्। आज सम्मानीय प्रधानमन्त्रीज्युले हामीलाई हेलो भन्नुभयो, समुहिक रुपमा हामीले नमस्कार ग¥यौ। उहाँले फर्काउनु भयो र यो पहिलो प्रयोग थियो । उहाँले कयौं विषयहरुमा जानकारी लिनुभयो’, बाँस्कोटले भने, ‘विभिन्न मन्त्रीज्युहरुसँग र उप प्रधानमन्त्री वा कार्यवहाक प्रधानमन्त्रीसित समेत। उहाँले आफूलाई लागेको सल्लाह सुझाव पनि दिनुभयो र काम गर्न निर्देशन दिनुभयो।’

भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद्को बैठक बस्दा प्राविधिक सुरक्षाबारेसमेत चासो व्यक्त भइरहँदा बैठकबारे प्रधानमन्त्री र सञ्चारमनत्रीको फरक धारणा आएको हो।

भिडियो कन्फरेन्स क्याबिनेट बैठकका लागि बाटो खुला गर्न प्रधानमन्त्री काठमाडौंबाट बाहिर रहँदा वा विदेशमा रहँदा मन्त्रिपरिषद बैठकमा सहभागी हुने भनेर मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि समेत संशोधन गरिएको थियो। भिडियो कन्फरेन्स क्याबिनेटलाई सरकारी अधिकारीहरुले ठूलै उपलब्धिको रुपमा व्याख्या गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .