प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन्। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ती जनाए।
उनले भने, ‘प्रधानामन्त्री काठमाडाैंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ। यो विल्कुलै अनुचित छ। यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ।’
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरी कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए।
मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ती जनाएको छ। प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरी मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरिएको भन्दै कार्यविधिमा भएको संशोधन अबिलम्ब संशोधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले भने, ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोली सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू?’
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिक्रिया