राजनीति


खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

नेपालखबर
भदौ ९, २०७६ सोमबार १३:२१,

आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ।

मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गरे।

सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पु-याइने उल्लेख छ। त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ। सरकारले लिएका यी लक्ष्यहरु पुरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो।

सम्झौतामा उल्लेख भए अनुसार ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरुको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने, १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरुको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने बताइएको छ।

त्यस्तै २३ वटा नगर क्षेत्र (जस्तै पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत अन्य क्षेत्र) को लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ। त्यसैगरी नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad