सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनबीच दोहोरी चलेको छ।
केही दिन अघि कांग्रेस सांसद गिरिले संसदीय समितिको बैठकमा नेपाल कुटनीति क्षेत्रमा असफल भएको भन्दै ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसप्रति आपत्ति प्रकट गर्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले यसबारेमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए। ‘एक जना सांसदले ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम बनाउँछ या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिनुभयो’ लिंदेनले भने, ‘यसबारे सरकारको धारणा के हो? स्पष्ट आउनुपर्यो।’
सांसद लिङ्देनले पूर्व प्रधानमन्त्रीहरु तथा वर्तमान सरकारका उपप्रधानमन्त्री भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा जाने कुराले नेपाल र नेपालीको स्वभिमानमाथि प्रश्न उठाउने काम गरको भन्दै गम्भीर आपत्ती पनि जनाए।
यता, कांग्रेस सांसद गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न आग्रह गरे। सरकार र प्रश्नकर्ता सांसदलाई लक्षित गर्दै उनले भने, ‘कुटनीतिको गलत समझदारी छ। यस्तै कुटनीतिलाई नबुझिकन तपाईले राजनीति र प्रचारमा मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ।’
उनले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई वर्षको तोते बालकले भाषा सिके जस्तो गरी कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्याउने काम भएको टिप्पणी गरेका थिए। उनले नेपाल भारत संयुक्त आयोगको बैठकको उपलब्धिबारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संसदलाई दिएको जानकारी र मन्त्रालयले निकालेको प्रेश विज्ञप्ती मेल नखाएको भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराए।
सांसद गिरीले कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई बास्तविक शक्ति सम्झन नहुने तर्फ पनि सचेत गराए। उनले भने, ‘भाषण गर्दा, बोल्दा, कालापानी दोहोर्याउँदा, चुनाबमा बोल्न ठिक हुन्छ तर सही अर्थमा कालापानी लिनु छ भने र १९५० को सन्धि फर्काउने हो भने कुटनीतिक पहल गर्नुपर्छ।’
बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेर युद्ध गरेको जस्तो समय नभएको भन्दै उनले सघन संवादको कुटनीतिमा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया