ad ad

राजनीति


सुनीलबहादुर थापाले कहाँबाट जुटाए कांग्रेसमा ९ हजार क्रियाशील सदस्य?

सुनीलबहादुर थापाले कहाँबाट जुटाए कांग्रेसमा ९ हजार क्रियाशील सदस्य?

सागर न्यौपाने
असार १७, २०७८ बिहिबार १४:५६,

‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु,’ एक वर्षअघि कांग्रेस प्रवेश गर्दा राप्रपाका नेता सुनीलबहादुर थापाले भनेका थिए।

उनका पिता सूर्यबहादुर थापाले पनि कांग्रेसबाटै राजनीति सुरु गरेका थिए। २००८ मा सूर्यबहादुर नेपाली कांग्रेसको विराटनगर जिल्ला कोषाध्यक्ष बनेका थिए। त्यसपछि धनकुटाको प्रथम सभापति बने।

तर, सूर्यबहादुरले २०१७ सालको ‘कू’ पछि राजा महेन्द्रलाई साथ दिँदै पञ्च बने। पञ्चायतमा पटकपटक सरकारको नेतृत्व गरेका थापाले बहुदलीय व्यवस्था स्थापना हुन नदिन कुनै कसर छाडेनन्।

बहुदल आएपछि २०४७ साल जेठ १५ गते उनले राप्रपा गठन गरेका थिए। त्यसयता निरन्तर राप्रपामै सक्रिय रहेर उनको मृत्यु भयो।

उनै सूर्यबहादुरका छोरा सुनीलबहादुरले राप्रपाबाटै राजनीति सुरु गरे र सो पार्टीको महामन्त्रीसम्म बने। राप्रपामै छँदा उनी मन्त्री पनि भए।

तर, २०७७ साल साउन १३ गते उनी कांग्रेस प्रवेश गरे। पार्टी प्रवेशकै दिन कांग्रेसको सहमहामन्त्री बन्न पाए। उनीसँगै कांग्रेस प्रवेश गरेका ३१ नेतामध्ये ५ जना केन्द्रीय सदस्य बनाइए।

सो कार्यक्रममा सुनीलबहादुरले बुबा सूर्यबहादुरको कांग्रेस–नाता स्मरण गर्दै टुटेको सम्बन्ध जोड्ने विश्वास व्यक्त गरेका थिए।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद चर्किरहेका बेला सुनीलबहादुरले ९ हजार क्रियाशील सदस्यताको कोटा पाए।

‘हामीले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकामध्ये विजय गच्छदारलाई २५ हजार र सुनिलबहादुर थापालाई ९ हजार क्रियाशील सदस्यताको कोटा तोकेका छौँ,’ कांग्रेसका एक नेताले भने।

देशभर दस लाख क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको योजना छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि काठमाडौँमा हुनेछ।

तर, क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले अहिले सबैको ध्यान त्यसमै केन्द्रित छ। सुनीलबहादुरले ९ हजार सदस्यता वितरण गर्ने कोटा पाएकोमा कांग्रेसभित्र असन्तुष्टि छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले सदस्यता वितरण प्रक्रिया नमिलेको बताउँदै आएका छन्।

‘सुनीलबहादुरसँग त्यत्रा कार्यकर्तै छैनन्’
तर, राप्रपाकै नेताहरुले सुनीलबहादुरसँग त्यति ठूलो संख्यामा कार्यकर्ता नभएको दाबी गरेका छन्।

‘शेरबहादुर देउवाले भारतीय जनता पार्टीसँगको सम्बन्ध विस्तारका लागि सुनीलबहादुरलाई कांग्रेस पार्टी प्रवेश गराएका हुन्,’ राप्रपाका एक नेताले भने, ‘उनीसँग त्यत्रो कार्यकर्ता कहाँ हुनु?’

ती नेताले सुनीलबहादुर कांग्रेसमा जाँदा राप्रपालाई कुनै क्षति नभएको पनि बताए।

‘केही केन्द्रीय सदस्य मात्र सुुनीलबहादुरसँग गएका हुन्,’ ती नेताले भने, ‘कांग्रेसको आन्तरिक कारणले गर्दा उहाँले केही राम्रो अवसर पाउनुभएको हो।’

थापासहित बाबुराम बस्नेत, विष्णुविक्रम थापा, चतुरमान विश्वकर्मा, चन्द्र भुन्डे गुरुङ, किरण गिरी, रामकृष्ण भट्टराई लगायतका ३१ जना कांग्रेस प्रवेश गरेका थिए।

त्यसमध्ये पूर्वप्रधानपञ्च रामकृष्ण भट्टराईको विराटनगरमा अलिकति प्रभाव रहेको राप्रपाका केन्द्रीय कार्यसम्पादन र सचिवालय सदस्य भरत पाठकले बताए।

सुनीलबहादुरको सिन्धुपाल्चोक र धनकुटामा केही प्रभाव भएपनि अन्यत्र कुनै प्रभाव नरहेको पाठकको भनाइ छ।

गृहजिल्ला धनकुटाकै राप्रपा अध्यक्ष कुमार थापाले समेत सुनीलबहादुरलाई साथ दिएनन्। त्यस्तो अवस्थामा सुनिलबहादुरले कसरी बनाउलान ९ हजार क्रियाशील सदस्य?

तर, थापाले आफूले साढे १० हजारको नामावली कांग्रेसलाई बुझाएको बताए।

‘एक वर्षअघि नै १० हजार ५ सय सदस्यको नाम क्रियाशील सदस्यताका लागि बुझाएको हुँ र अनुमोदन पनि भइसकेको छ,’ उनले भने।

उनका अनुसार ३६ जिल्लाबाट नाम संकलन गरिएको थियो।

‘हामी कांग्रेस प्रवेश गरेको केही समयपछि नै ३६ जिल्लाबाट नामहरु संकलन गरेर पार्टीमा बुझाएका थियौँ,’ थापाले नेपालखबरसँग भने।

तर, अन्य पार्टीबाट प्रवेश गरेकाहरुको समायोजनको लागि गठन गरिएको समितिका सदस्य प्रकाशशरण महतले सुनीलबहादुर थापाले पेश गरेको संख्या घट्नसक्ने बताए।

‘वडा, क्षेत्र हुँदै आएका नामहरु हामीले छानबिन गरेका थियौँ,’ महतले नेपालखबरसँग भने, ‘कतिमा तल्लो तहमा बैठक नै नबसी नाम मात्र पठाएको रहेछ। प्रक्रियामा नगएकाहरुको यहीँबाट टुंगो लगाउनुपर्ने छ उहाँहरुले पेस गर्नुभएको नाम केही घट्न सक्छ। धनकुटा लगायतका केही जिल्लाबाट प्रक्रिया नपुर्‍याइ नाम पठाइएकोले त्यसबारे निर्णय भएको छैन।’

९ हजार पुर्‍याउन कुनै समस्या छैनः सुनिलबहादुर थापा
कोटा तोकेको त सुनेको छैन। हामीले त्यतिखेर ३६ जिल्लाबाट नामहरु संकलन गरेर पार्टीमा बुझाएका थियौँ। त्यतिखेर हाम्रोबाट १० हजार ५ सयको नाम समायोजन कमिटीलाई बुझाएर अनुमोदन पनि गराइसकेका छौँ।

समायोजन समितिलाई जिल्लाबाट संकलन गरिएको नामसहितको विवरण पेस गरेका थियौँ।

राप्रपा परित्याग गरेर जिल्ला जिल्लाबाट आएका केन्द्रीय सदस्य र जिल्ला तहका नेताहरुको नाम संकलन गरेका हौँ। त्यसमा केही बहालवाला साथीहरु हुनुहुन्थ्यो। केही केन्द्रीय पार्षद् हुनुहुन्थ्यो।

त्यसैको आधारमा समायोजन समितिले छानवीन गरेर केन्द्रीय समितिबाट अनुमोदन गरेर जिल्लाहरुमा पठाएको अवस्था हो।

राप्रपाबाट यो एक वर्षको अवधिमा थुप्रै साथीहरु कांग्रेस प्रवेश गर्नुभएको छ र हामीसँग जोडिनु भएको छ। कोटा नै तोकिएको रहेछ भने हामीलाई ९ हजार पुर्‍याउन कुनै समस्या छैन।

प्रक्रिया नमिलाई नाम पठाउनुभएको छः प्रकाशशरण महत
क्रियाशील सदस्यताको टुंगो लगाउने प्रक्रिया जारी छ। अरु दलबाट आएकाहरुको वडा, क्षेत्र हुँदै आएका नामहरुमाथि दुवैतर्फका प्रतिनिधि बसेर छानबिन गर्ने काम भइरहेको छ।

पार्टीमा आएका नाममध्ये केही जिल्लामा समस्या देखिएको छ। तल्लो स्तरमा प्रक्रियामै नबसेर नाम पठाएको पाइयो र त्यसमा केही समस्या छ। त्यसलाई प्रक्रियामै प्रवेश नगराएको भएर यहीँ केन्द्रबाट निर्णय गराउनुपर्छ भन्ने छ, त्यसको निक्र्याेल हुन बाँकी छ।

सुनिलबहादुर जीको भन्न त ८-१० हजार नाम पठाएको भनेका छन्। तर, वास्तविकतामा कमी छ।

क्रियाशील सदस्यताको लागि कतिपय जिल्लाहरुले धनकुटा, भोजपुर लगायतका केही जिल्लामा सोध्दा त्यहाँ समस्या रहेको पाइएको छ। त्यसबारे ती जिल्लाबाट पनि लेखेर पठाएका छन्। पार्टीले पनि बुझ्ने काम गरिरहेको छ। केही ठाउँको भने तलैबाटै प्रक्रिया अगाडि बढेको छैन। यो कुरालाई यहीँबाट गरेर टुंगो लगाउने योजनामा छौँ।

यो संख्या निर्क्यौल नभई उहाँहरुले पाउने क्रियाशील सदस्यताको टुंगो लाग्दैन। प्रक्रियागत निर्णय गरेर ल्याउनु भनिएको छ, त्यसमा उहाँहरुले भनेको जति नै पनि हुन सक्छ वा कम पनि हुनसक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .