ad ad

राजनीति


सरकारले विकास निर्माणको गति अभूतपूर्वक ढंगले अघि बढायो : प्रधानमन्त्री ओली

सरकारले विकास निर्माणको गति अभूतपूर्वक ढंगले अघि बढायो : प्रधानमन्त्री ओली

नेपालखबर
असार १६, २०७८ बुधबार ११:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन्।

उनले भने, ‘योजनावद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ।’

बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे।

उनले भने, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्टहरुको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौं। विकास गर्दै लगेका थियौं। इतिहासमा पहिले कहिल्यै नभएका ठूला ठूला सकारात्मक लक्ष्यहरु प्रकट भएका थिए।’

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको टिप्पणी उनले गरे।

उनले भने, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजती र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे। प्रचारात्मक ढंगले। यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ। जनता दुःखी छन् र निराश छन्।’

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे। पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दिमा क्रियाशील भएको जिकिर प्रधानमन्त्री ओलीले गरे। अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको पनि उनले टिप्पणी गरे। पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको उनले दाबी गरे।

उनले भने, ‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरु भयो। पदीय आकांक्षाका लागि। अस्वस्थ्य पदीय आकांक्षाका लागि। जालझेल, षडयन्त्र, तिकडमबाट , पार्टीभित्रको अस्वस्थ्य गुठबन्दिबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशील भए। त्यसले पार्टीभित्र असहज वातावरण तर्फ लग्यो। २ वर्ष पुरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो। अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो। अस्थिरता ल्याउने खेल सुरु भयो। त्यो खेल अब विरोधीहरुसँगको साँठगाठमा गयो। जे भेटिन्छ त्यसको प्रयोग गर्ने। जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने। यस खालका प्रयास हुँदै आए।’

उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदैछ भन्ने स्थितिसम्म श्रृजना भएको बताए। उनले पार्टी भित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गरे।

पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिसिभा पुनर्स्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .