नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्र परित्याग गरेका २३ नेता पनि सहभागी छन्।
पूर्व माओवादीका २३ नेता एमाले पार्टीमा आबद्ध भएर बसिरहेकाे याे महाधिवेशन आयाेजक कमिटीकाे अन्तिम बैठक हो।
माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहित २३ नेताहरु एमाले प्रवेश गरेका थिए।
एमालेको पर्सी १८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर बोलाइएको केन्द्रीय समिति बैठकमा पूर्वमाओवादीका कोही नेताहरु सहभागी बन्न नपाउने भएकोले आजको बैठक नै एमालेमा अन्तिम भएको हो।
यद्यपी १८ गतेको बैठकले एमालेमा पूर्वमाओवादीको स्थानबारे निर्णय भने गर्न सक्नेछ। पूर्वमाओवादीका २३ नेतालाई नै समेटेर फागुन २८ मा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको थियो।
त्यसपछि सबैलाई समेटेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले चैत ७ गते केन्द्रीय कमिटी भंग गर्दै दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएका थिए।
सोही कमिटीले पार्टीभित्रका माधवकुमार नेपाल पक्षका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो।
तर, सर्वोच्च अदालतले एमालेको दसौँ राष्ट्रिय महाधिवेशन बनाउने निर्णय विधानसम्मत नरहेको ठहर गरेको थियो।
अदालतको आदेशका कारण नेकपा एमालेले आज अन्तिम बैठक राखेर दसौँ राष्ट्रिय आयोजक कमिटी आज भंग गर्दैछ।
आजको बैठकमा के निर्णय आउँछ अहिलेसम्म नेताहरुले खुलाएका छैनन् तर, सर्वाेच्चको आदेशले महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै पूर्व माओवादीको लागि भने एमाले पार्टीमा आजको बैठक अन्तिम हुने नेताहरु बताउँछन्।
एमालेको जेठ २ गतेसम्म २ सय ४१ सदस्य केन्द्रीय समिति छ। पूर्व माओवादीबाट थपिएको केन्द्रीय समिति २ सय ६४ थियो।
माधव नेपाल पक्षलाई सहमतिमा ल्याउनको लागि जेठ २को अवस्थामा एमाले फर्किएपछि पूर्व माओवादीहरुको व्यवस्थापन केही समय नहुने देखिएको छ।
यद्यपि, आजको महाधिवेशन आयोजक कमिटीको बैठकले त्यसबारे के निर्णय गर्छ ? पूर्व माओवादीको व्यवस्थापन कसरी गर्छ त्यो भने प्रतिक्षाको विषय छ।

प्रतिक्रिया