राजनीति


ओलीले भने : माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र?

ओलीले भने : माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र?

नेपालखबर
असार १४, २०७८ सोमबार ९:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाली कांग्रेसको कार्यकर्ता भएको आरोप लगाएका छन्।

बालुवाटारमा आयोजित कार्यक्रममा माधव नेपाल सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालल प्रचण्डको पुच्छर भएको टिप्पणी गरे। नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको ओलीको आरोप छ।

'प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे। माधव नेपालले आफै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ', ओलीले भने, 'म शेर बहादुर देउवा प्रति यति सर्मपित छु। म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु। पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु। शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। उनी शेरबहादुर देउवाको पार्टी नै ज्वईन गर्न पनि सक्छन्। कार्यकर्ता भएर हिडेका छन्। प्रचण्डको पार्टी त उनलाई ज्वईन गर्नुनै छ। त्यो त उनको गन्तव्य नै हो।'

माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको उनको भनाई छ।

'तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन्। मलाई बौलाहा कुकुरले टोकेको छ र? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला?' उनले भने।

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भन्दै आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीको छ।

'उनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन्। जन्तु पुर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पुर्वतिर हुन्छ। फर्किन्छ। पछाडि पछाडिसँगै हुन्छ क्या त्यो। उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ। कांग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ', ओलीको टिप्पणी थियो।

माधव नेपाल पतन भएको उनको भनाई छ। 'यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ। आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने। कम्युनिष्ठ आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिड्ने,' ओलीले भने, 'यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसावले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि। गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ।'

नेता नेपालले शनिबार पत्रकारहरुसँग आयोजित अन्तर्क्रिया कार्यक्रममा आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad