ad ad

राजनीति


पूर्वमाओवादी नेताको अन्तरङ्ग कुराकानी: ‘लोकेन्द्र विष्टझैँ खेती गरेर बसौं क्या हो!’

पूर्वमाओवादी नेताको अन्तरङ्ग कुराकानी: ‘लोकेन्द्र विष्टझैँ खेती गरेर बसौं क्या हो!’

नेपालखबर
असार १३, २०७८ आइतबार १२:४८,

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका केही नेताहरु शनिबार बानेश्वरको एभरेस्ट होटलमा जम्मा भए।

रामबहादुर थापा बादलसहित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र दावा तामाङ त्यो छलफलमा सहभागी थिए।

उनीहरुले एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् विस्तार गर्न लागेको र त्यसमा रहने पूर्वमाओवादीहरुको नाम टुंगो लगाए। झण्डै ७ सय जनाको नाम बुझाइएको भेलामा सहभागी एक नेताले बताए।

अनौपचारिक भनिएको छलफलमा बादल र रायमाझीले नाम रुजु गरेका थिए। 

बादलले छुटेका नामहरु डायरीमा टिपेका थिए। रायमाझीले प्रिन्ट गरेर ल्याइएको नामावली सरसर्ती हेरे। मणि थापा र लेखराज भट्टले सुझाव दिए।

नेता टोपबहादुर रायमाझीले नेकपा एमालेमा पूर्वमाओवादीको समायोजन टुंग्याउने विषयमै छलफल भएको बताए।

तर, भेलामा राजनीतिक कम अन्तरङ्ग कुराकानी धेरै भएको सहभागी एक नेताले बताए।

भेलामा टोपबहादुर रायमाझीले राजनीतिबाट वाक्क भएको गुनासो गरेका थिए। आफू माओवादीमा हुँदा झण्डै तीन दशक बाबुराम भट्टराईलाई काँधमा हाले पनि कुनै काम नलागेको उनले बताएको ती नेताले जानकारी दिए।

‘बाबुरामलाई छाडेपछि प्रचण्डलाई बोकियो,’ रायमाझीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘अहिले केपी ओलीसँग भइयो। राजनीति पनि विचित्रै रैछ। अब शान्त तरिकाबाट बस्ने उपाय खोजौँ कमरेड।’

उनले कृषि कर्म गरेर बस्न मन लागेको पनि बताएका थिए।

‘अब तपाईँको कैलालीमा रहेको जग्गा बेचौँ र यहीँ काठमाडौंनजिकै कतै कृषि काम गरौँ, लोकेन्द्र जीको (लोकेन्द्र विष्ट) जस्तो,’ रायमाझीले लेखराज भट्टलाई भने, ‘तपाइँको ज्यान, हाइट, कपाल हेर्दा त राष्ट्रपति हुने जस्तो हुनुहुन्छ। तर यस्तै भो। अब  सँगै खेती गरौं, सबै जना त्यहीँ बसौँ।’

रायमाझीको कुरा सुनेर एकछिन सबैजना हाँसेका थिए। त्यसपछि मणि थापाले रायमाझीको प्रस्तावमा सही थापेका थिए।

जवाफमा लेखराज भट्टले आफ्नो चाहना पनि त्यस्तै भएको बताएका थिए।

‘अँ पार्टीमा जति दुःख गरेपनि यस्तै भो। भूमिगत भइयो, एकता गरेर फेरि एमालेमा आइयो। अब त मलाई नि शान्तिको श्वास फेर्न  मन छ,’ भट्टले भने।

खुलेर बोलेका रायमाझीले एमालेमा पूर्वमाओवादीहरुलाई ‘बादल समूह’ भनिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए।

'बादलजी तपाईँ त बोल्दा नी बोल्नुहुन्न, हाँस्दा नि हाँस्नु हुन्न, तपाईँको समूह भन्छन् तर हाम्रो त ७७ वटा जिल्लामै कमिटी छ,' रायमाझीले भनेका थिए, ‘यो बादल समूह होइन, यो पार्टी एकता हो।’

त्यसबारे बादलले कुनै प्रतिक्रिया जनाएनन्।

छलफलमा अनुपस्थित प्रभु साहको बारेमा पनि खोजनीति भएको थियो।

'प्रभुजीले मलाई पनि कल गर्नुभएको थियो। उहाँले त नेकपा हुँदा जस्तै संरचनामा काम गर्नुपर्ने बताउनु भयो,' रायमाझीले साहको कुरा आउँदा फेरि बैठकमा थपे।

‘नेकपा हुँदाकै नीति र नियम लागू हुनुपर्छ, एकताको जगबाट हिँडेनौं भने हामी यो पार्टीमा मिसिएको अर्थ रहँदैन। त्यसलाई विकसित रुप दिनैपर्छ,’ साहले नेपालखबरसँग भने।

अर्का एक नेताका अनुसार साह एमालेभित्रको पार्टी संरचना र व्यवहारसँग सन्तुष्ट छैनन्।

साहले नेताहरुसँग भने, ‘भिन्नै पार्टी बनाएर एमाले र माओवादी केन्द्रसँग बार्गेनिङ गर्ने अवस्था नबनाउने हो भने एमालेले पनि हेप्छ, हामी हेपिनु हुँदैन।’

नेपालखबरले त्यसबारे जिज्ञासा राख्दा उनले सबै कुरा टोपबहादुर रायमाझीलाई बताएको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .