बहुमत कार्यपालिका तथा नगरसभा सदस्यहरुले बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाको बजेट प्रस्तुत गर्ने कार्यक्रम रोकिएको छ।
आज महानगरले आर्थिक वर्ष ०७८/७९ बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो। तर कार्यपालिकाबाट पास हुनु पर्ने बजेट पास नभएको भन्दै बहुमत कार्यपालिका तथा नगरसभा सदस्यहरुले बहिस्कार गरेपछि महानगरको बजेट अन्योलमा परेको छ।
महानगरपालिकाकी उपमेयर गीता सत्यालले आज नीति तथा कार्यक्रम प्रस्तुत भएको बताइन्।
'आज नीति तथा कार्यक्रम प्रस्तुत भयो,' उनले भनिन्, 'आज बजेट ल्याउने प्रस्तु गरिएन।' उनका अनुसार नीति तथा कार्यक्रममा बजेटको सिलिङ भने प्रस्तुत भएको थियो।
कुल ३९ जना कार्यपालिका सदस्यमध्ये २६ जनाले र कुल ९२ जना नगर सभा सदस्यमध्ये ६६ जनाले बहिष्कार गर्ने घोषणा गरेका हुन्।
बजेट कार्यक्रम कार्यपालिकाबाट पारित गरेर मात्र नगर सभामा उपप्रमुखले पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै उनीहरुले नगर प्रमुखले नीति तथा कार्यक्रम ९ गते कार्यपालिकामा पेस गरेको र कार्यपालिका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भन्दाभन्दै नगर प्रमुखले बल मिच्याइँ गरेको उनीहरुले आरोप लगाएका छन्।

प्रतिक्रिया