राजनीति


ओली समूह भन्छः अर्को खिलराज ल्याउने खेल भयो

ओली समूह भन्छः अर्को खिलराज ल्याउने खेल भयो

नेपालखबर
असार ९, २०७८ बुधबार १६:०,

नेकपा एमालेको केपी शर्मा ओली समूहले मुलुक र संविधानलाई असफल पारेर अर्को खिलराज रेग्मी जन्माउने खेल भइरहेको निष्कर्ष निकालेको छ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्रीले सरकार विस्तार गर्न नपाउने भन्दै २० जना मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेश दिएको थियो।

बुधबार प्रधानमन्त्री ओलीले यस विषयमा उपत्यकामा रहेका स्थायी कमिटीका सदस्यहरुसँग बालुवाटार छलफल गरेका थिए।

छलफलमा मंगलबारको आदेशले चुनाव गर्न नसकिने अवस्था सिर्जना गर्न खोजिएको र त्यो संविधान असफल बनाउने डिजाइनअनुसार आएको हुनसक्ने निष्कर्ष निकालेको छ।

सो छलफलमा सहभागी एक नेताले अदालतले सदर गरेर चुनाव हुने अवस्थामा देश पुगेको बताए। उनले आगामी दिनमा पाँच जनाको मन्त्रिपरिषदले मात्रै चुनाव गर्न नसक्ने भन्दै त्यसलाई राजनीतिक मुद्दा बनाइने अनुमान गरे।

‘अदालतको हिजोको फैसला चुनाव हुन नदिने खालको छ,’ बैठकमा सहभागी ती नेताले भने, ‘अब ५ जनाले मात्रै चुनाव कसरी गर्नसक्छ भन्ने विषय आउने छ। अहिले अदालत कार्यकारीको विरोधमा लाग्न थाल्यो। यसले गम्भीर संकट निम्त्याउने देखिन्छ। कार्यकारीलाई असफल बनाएपछि नयाँ खिलराज रेग्मी ल्याउने खेल हुनसक्छ।’

पहिलो संविधानसभाको विघटनपछि चुनाव हुन नसक्ने र नयाँ सरकार पनि बन्न नसक्ने अवस्थामा उत्पन्न गतिरोध अन्त्यका लागि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दलबाहिरका व्यक्ति सम्मिलित चुनावी सरकार निर्माण गरिएको थियो। जसले २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन गराएको थियो।

स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कार्यपालिकाको निर्णय उल्ट्याउने काम संविधानलाई असफल पार्ने डिजाइनअन्तर्गत भएको दाबी गरे।

‘कार्यपालिकाले गरेको निर्णयहरु एकपछि अर्को गर्दै उल्ट्याउँदै जाने हो भने राज्य र व्यवस्था संकटमा भनेर बुझ्नु पर्छ,’ गुरुङले भने ‘मुलुक र संविधानलाई असफल बनाउने एउटा डिजाइन जस्तो देखिन्छ।’

उनले विगतमा पनि अदालतको फैसलालाई सरकारले मानेको र अहिले पनि त्यसलाई मान्ने बताए।

‘कानुनी शासन र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएकाले अदालतको फैसलालाई मान्ने काम भइहाल्छ,’ उनले भने, ‘सरकारले प्रतिनिधिसभा यति दिनभित्र बोलाउन भनेको मानेर बोलाएकै हो। तर, पुनर्स्थापनाको पक्षमा भएकाहरुले संसद् चलाउने विषयमा ध्यानै दिएनन्।’

गुरुङले मुलुक विस्तारै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई उल्ट्याउने स्थितिमा पुग्ने आशंका गरे।

ओली नै व्यवस्था असफल पार्ने डिजाइनमा छन्ः नेपाल पक्ष
तर, एमालेको माधवकुमार नेपाल पक्षले भने ओली नै व्यवस्था भत्काउने डिजाइन लागेको दाबी गरेको छ।

नेपाल निकट नेता तथा राष्ट्रियसभाका सांसद बेदुराम भुसालले अहिले प्रधानमन्त्री ओलीले व्यवस्था उल्ट्याउने डिजाइनअनुसार काम गरिरहेको बताए।

‘प्रधानमन्त्रीले जसरी संविधान मिच्दै गतिविधि गरिरहनु भएको छ, यो कदम लोकतन्त्र विरोधी हो। यसले राष्ट्रियतामाथि पनि आघात पुगेको छ। संविधानलाई असफल बनाउने खेल हो यो,’ भुसालले भने, ‘प्रतिनिधिसभा विघटन गर्नु भनेको संविधानलाई पंगु बनाउने कुरा हो। लोकतन्त्रलाई असफल बनाउने खेल अन्तर्गत नै भइरहेको हो।’

भुसालले प्रधानमन्त्री ओलीले अदालतदेखि संवैधानिक अंगहरुमाथि हस्तक्षेप गरेको बताए।

‘संविधानविरोधी कामलाई अदालतले सच्याएको छ,’ भुसालले भने, ‘प्रधानमन्त्रीले हस्तक्षेप गर्न बाँकी कुनै अंग छाड्नुभएको छैन। शक्तिपृथकीकरणको सिद्धान्तलाई समाप्त पारिएको छ।’

उनले अदालत मात्रै नभएर निर्वाचन आयोगमा गरिएको गतिविधिहरुले झनै स्पष्ट पार्ने बताए।

‘आयोग कार्यकारीको छायामा छ। अदालतलाई कार्यकारीको छायामा पार्न खोजिएको छ,’ भुसालले भने, ‘राज्यका तीनै अंगले स्वतन्त्र रुपमा काम गर्छ भनेर संविधान भनिएको छ। त्यसलाई हस्तक्षेप गरेर समाप्त पार्न खोजिएको छ।’

ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसलाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापित गरिदिएको थियो। फेरि प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक विघटन गरेका थिए। सोसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad