सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गरेका छन्।
बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका हुन्।
सो अवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको यस कोर्षले विभिन्न समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
एपीएफ अधिकृतहरुलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ बनाइ सांगठानिक विकासमा योगदान पुर्याउन सक्ने गरी पूर्ण व्यवसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने उनले बताए।
महानिरीक्षक खनालले व्यक्तिको व्यक्तित्व विकास तथा बृत्ति विकासमा समेत यस्ता कोर्षले महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गरे।
उनले ज्ञान आर्जन गर्ने कार्य जीवन पर्यन्त चलिरहने विषय भएको चर्चा गर्दै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशिल र अझै बढी मेहनती भइ लाग्न प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताए।
महानिरीक्षक खनालले उक्त कोर्षस्तरीय रुपमा निरन्तर सञ्चालन गर्नका लागि विशिष्ट सहयोग पुर्याएकोमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गरे।
समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गरिन्।
उनले सो कलेजबाट दिक्षीत सशस्त्र प्रहरी अधिकृतहरुले सांगठानिक विकासका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ।
एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक ८ जना गरी १० जना अधिकृतहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया