राजनीति


मसाल महामन्त्री सिंहसँग गण्डकीका मुख्यमन्त्री पोखरेलको प्रस्ताव : सरकारमा सहकार्य गरौं

मसाल महामन्त्री सिंहसँग गण्डकीका मुख्यमन्त्री पोखरेलको प्रस्ताव : सरकारमा सहकार्य गरौं

नेपालखबर
असार ९, २०७८ बुधबार ९:१०,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारमा सहकार्य गर्न नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले राष्ट्रिय जनमोर्चालाई प्रदेश सरकारमा सहभागी हुने वातावरण बनाइदिन सिंहसँग आग्रह गरेका हुन्।

‘गण्डकी प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय जनमोर्चाको भूमिका महत्वपूर्ण छ। अब सरकारमा पनि सहकार्यका लागि यहाँले वातावरण निर्माण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ मुख्यमन्त्री पोखरेलले भने, ‘तपाईं (मोहनविक्रम सिंह) को सुझबुझपूर्ण राजनीति गण्डकी सरकारका लागि मार्गनिर्देश हुनेछ।’

जवाफमा मसाल महामन्त्री सिंहले अहिले आफ्नो पार्टीको सरकारमा सामेल नहुने बरु गुण र दोषका आधारमा समर्थन गर्ने नीति रहेको स्पष्ट पारेका थिए। उनले मुख्यमन्त्री बनेकोमा पोखरेललाई बधाई दिनुका साथै कार्यकाल सफलताको पनि शुभकामना दिए।

‘हाम्रो पार्टीको अहिले सरकारमा जाने नीति छैन। सरकारले गर्ने राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नेछौं’ सिंहले भने, ‘अहिले मुख्यतः प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र प्रतिगामी चरित्रविरुद्धको संघर्ष मुख्य प्रश्न हो।’

सिंहले ओलीकाे प्रतिगमनकाे यात्रा कहाँ पुगेर टुंगिन्छ भन्ने अनिश्चित रहेकाे भन्दै त्यसले समग्र देशकाे लाेकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतालाई समेत अनिश्चित बनाएकाे बताए। उनले लाेकतान्त्रिक शक्त्तिहरुबीच अझ बढी सहकार्य हुनुपर्ने आवश्यकता औंल्याए।

‘ओलीको यो प्रतिगनको यात्रा अझै कहाँ पुग्छ टुंगो छैन’ उनले भने, ‘त्यसकारण लोकतान्त्रिक शक्तिहरुबीच एकता अहिलेको आवश्यकता हो।’

mohanbikram-krishnachandra-groupphoto.jpg

मुख्यमन्त्री पोखरेलले सरकारमा सहभागी दलहरुबीच मन्त्रालयकाे भागबण्डा लगायतका विषयमा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार गर्न नसकिएको बताएका थिए। उनले मन्त्रिपरिषमा सहभागितालगायतका कतिपय कुराहरु प्रदेशस्तरमा भन्दा पनि केन्द्रीयस्तरबाटै टुंगो लगाउनुपर्ने धारणा राखेका थिए।

भेटका क्रममा गण्डकी प्रदेशका मन्त्री कुमार खड्काले राष्ट्रिय जनमोर्चाको सुझबुझपूर्ण निर्णय र अडानकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्न सकिएको बताए। अब दलहरुबीच लोकतान्त्रिक चरित्रको रक्षा र विकास निर्माणका विषयमा सहकार्य हुने उनले स्पष्ट पारे।

उनले पार्टीका एक जना सांसद (कृष्ण थापा) लाई त्याग गरेर भए पनि राष्ट्रिय जनमोर्चाले आफ्नो नीतिप्रति दृढता देखाएको बताए।

भेटमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, सचिव हिमलाल पुरी र पूर्वसचिव कृष्ण अधिकारीलगायत नेताहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad