कर्णाली प्रदेशमा फ्लोर-क्रस गरेका आफ्ना चार सांसदको पद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले (ओली समूह) ले दिएको पुनरवलोकन निवेदन (भ्याकेट) बारे आज सुनुवाइ हुँदै छ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा भ्याकेटको सुनुवाइ हुने भएको हो।
गत वैशाख ३ गते कर्णालीका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले पार्टीको ह्विविपरीत माओवादी केन्द्रबाट मुख्मन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। त्यसपछि उनीहरूलाई एमालेले गत वैशाख १४ गते सांसदबाट बर्खास्त गरेको थियो।
तर त्यसविरुद्ध माधव नेपाल पक्षले दिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ गते एमालेको महाधिवेशन आयोजक कमिटी पार्टीको आधिकारिक संरचना नभएकाले त्यसले गरेको कारबाही मान्य नहुने अन्तरिम आदेश जारी गर्दै ती ४ प्रदेश सांसदको पद पुनःस्थापना गरेको हो।
तर यो आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै ओली पक्षले दिएको पुनरवलोकन निवेदनको आज सुनुवाइ हुन लागेको हो।
योसँगै एमालेका दुई पक्षबीच एकता नहुने लगभग निश्चित देखिएको छ। किनकि वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार मात्र ओली समूह भ्याकेटमा जानुले एकता भंग गराउनेतर्फ लागेको स्पष्ट भएको वक्तव्य जारी गरेका छन्।
यी पनि :
भ्याकेटमा जाने निर्णय एकताविरोधी भनेपछि माधव नेपाललाई शंकर पोखरेलको जवाफ

प्रतिक्रिया