समाज


गाईको गहुँतले कालो ढुसीबाट बचाउने!

गाईको गहुँतले कालो ढुसीबाट बचाउने!

नेपालखबर
असार ८, २०७८ मंगलबार ४:४३,

स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिहरुले दाबी गरेका छन्।

श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले यस्तो धारणा राखेका हुन्।

उनीहरुले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमासमेत जोड दिएका छन्। पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उनीहरुको दाबी छ।

कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताए। प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उनको जोड थियो।

‘गाईलाई रासायनिक मलले असर गरेको छ, रासायनिक मलले स्थानीय जातका गाई बाँच्न आवश्यक वातावरण नष्ट हुन थालेको छ’, उनले भने, ‘गाईको गहुँतमा सुन नै पाइएको पनि अध्ययनबाट प्रमाणित भएको छ, स्थानीय जातका गाई मानिसजस्तै हिमालय क्षेत्रमा जान सक्छन्।’

मानव शरीरमा एचआइभी एड्सविरुद्ध एण्टीबडी तयार पार्न गाईको दूध उपयोगी भएको तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ । स्थानीय जातका गाईमा कीरा वा झिङ्गा कुनै अङ्गमा बसेमा त्योमात्र हल्लाउन सक्ने क्षमता हुन्छ । यो क्षमता जर्सीलगायत अन्य जातका गाईमा हुँदैन।

स्थानीय जातका गाईको वैज्ञानिक अध्ययन अनुसन्धानका लागि नेपालमै पहिलोपटक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले प्रयोगशाला स्थापना गर्ने तयारी गरेको स्वामी चैतन्य कृष्णले जानकारी दिए।

नेपाल भूमिमा स्थानीय जातका गाई केन्द्रित कृषि प्रणाली, गाईमा आधारित अर्थनीति आवश्यक रहेकामा वक्ताहरुको जोड थियो। गाईको बिक्री, गाईलाई असहाय बनाएर छाड्ने प्रवृत्तिविरुद्ध जागरण फैलाउन सातदिने महोत्सव जुम प्रविधिबाट आयोजना गरिएको हो।

जरोकिलो महाअभियानका अध्यक्ष सह प्राडा निर्मलमणि अधिकारीले वैदिक ज्ञानमा पुनर्जागरण शुरु भएकाले स्थानीय जातका गाईको पनि संरक्षण हुने वातावरण बनेको बताए। वैदिक गुरुकुल विगत १०० वर्षमा अहिले सबैभन्दा बढी पुगेकाले स्थानीय जातका गाईको संरक्षणमा गुरुकुलले भूमिका खेल्नुपर्ने उनको भनाई थियो।

विसं २०१८ मा स्थानीय जातका गाईलाई बढी दूध दिने बनाउन सुई लगाउन शुरु गरेपछिदेखि नै यसको अस्तित्व सिध्याउन शुरु गरिएको अधिकारीले बताए।

विसं २०२८ मा आएको नयाँ शिक्षाले धार नै परिवर्तन गरी नेपालको मौलिक विषयवस्तुलाई पन्छाउँदै गएपछि स्थानीय जातका गाईलगायत देशको पहिचानका मौलिकता बोकेका कुरा क्रमशः हराउन शुरु भएको अध्येता अधिकारीले गुनासो गरे। हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले स्थानीय जातका गाईको सेवाका लागि प्रत्येक नेपालीबाट सहयोग जुटाउने अभियान चलाउनुपर्नेमा जोड दिए।

आयोजक समितिका अध्यक्ष स्वामी नन्दकिशोरले सडकमा वृद्ध गाई र गोरु धेरै अलपत्र परेको बताए। जुम प्रविधिबाट जारी महोत्वसव आगामी शनिबारसम्म चल्ने छ। कार्यक्रममा स्थानीय जातका गाईको संरक्षणका लागि सहयोगसमेत गर्न सकिने आयोजकहरुले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad