राजनीति


उत्तर कोरियालाई पायक पर्ने स्थान र समयमा अमेरिका वार्ताको लागि तयार

उत्तर कोरियालाई पायक पर्ने स्थान र समयमा अमेरिका वार्ताको लागि तयार

नेपालखबर
असार ७, २०७८ सोमबार ११:१३,

यससँगै उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन्।

उत्तर कोरियाली नेता किम जङ उनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सोलमा छन्।

खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन्।

गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किम जङ उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए।

अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण सङ्कट व्यहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोनाभाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ सङ्कटमा परेको छ।

अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरुले “नोट” गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाली र जापानी आणविक निशस्त्र सम्बन्धी कुटनीतिज्ञसँगको भेटवार्तापछि किमले भने, “हामीहरुले वार्ताका लागि कुनै पूर्वशर्त राखेका छैनौं। हामीहरु कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौं।”

दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ट अधिकारीहरुले सामूहिक रुपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ।

उत्तर कोरियाली नेता किम जङ उन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन्।

उक्त वार्ताहरुमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरु फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो।

दक्षिण कोरियाले अन्तर–कोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कुटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको झैं सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad