नेपाल पत्रकार महासंघले वागमती प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैँ सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएको छ।
कुनै पनि तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा बागमती प्रदेश सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।
पटक पटक ध्यानाकर्षण गराए पनि बागमती प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैँ सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निणर्य तत्काल फिर्ता लिन महासंघले जोडदार माग गरेको छ।
प्रदेश सरकार आफैँले सञ्चारमाध्यम सञ्चालन गर्दा यसले नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवम् स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ।
‘लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी वागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित सूचना सम्प्रेषण गर्नेगरी सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ।’
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध रहेको यो निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। अन्यथा यसविरुद्ध कडा रुपमा जान बाध्य हुने चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया