क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत तथा अमेरिका सम्मिलत जी७ राष्ट्रले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआई लाई टक्कर दिने गरी ‘बिल्ड ब्याक बेटर वर्ल्ड’ बी३डब्लू योजना ल्याएका छन्।
बीआरआई योजना अन्तर्गत चीनले विभिन्न मूलुकका पूर्वाधारमा लगानी बढाएपछि उसको प्रभाव अत्यधिक बढेको भन्दै अमेरिकाले बीआरआईलाई चुनौती दिन बी३डब्लू योजना ल्याएको हो। यस योजनालाई जी७ राष्ट्रले अनुमोदन गरिसकेका छन्।
त्यतिमात्र होइन जी७ राष्ट्रले सिनजियाङको मानवअधिकारको विषयमा आलोचना गर्दै चीनलाई हङकङलाई स्वतन्त्र छाड्न र ताइवानको सीमा क्षेत्रमा स्थायित्व कायम गर्न भन्यो।
जी७ राष्ट्रले चीनले दाबी गर्ने ताइवानको सीमा क्षेत्रमा तनाव नबढाउन भनेसँगै ताइवानले अन्तर्राष्ट्रिय समर्थन जारी राख्न आग्रह गरेको छ।
चीनले दाबी गर्ने ताइवान स्वतन्त्र राष्ट्रजस्तो हुन चाहन्छ। तर चीनबाट ताइवान अलग्याउने गतिविधि गरिए सैन्य आक्रमण गरेरै ताइवान कब्जा गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ छ।
जी७ राष्ट्रका नेताहरु
ताइवानको राष्ट्रपतिको कार्यालयले जी७ राष्ट्रले समर्थन जनाएसँगै भनेको छ,‘ताइवानले बृहत्तर अन्तर्राष्ट्रिय समर्थन साथै साझेदारी खोज्नेछ।’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता जेभियर चाङले जी७ राष्ट्रका नेताले पहिलोपटक ताइवानको सीमाको शान्ति र स्थायित्वको विषयमा जोड दिएको बताए।
‘ताइवान र जी७ राष्ट्रसँग प्रजातन्त्र, स्वतन्त्रता, र मानवअधिकारजस्ता मिल्दोजुल्दो साझा मूल्य मान्यता छ’ उनले जी७ राष्ट्रलाई धन्यवाद दिँदै भनेका छन्,‘ताइवानले निश्चित रूपमा आफ्नो भूमिकाको पालना गर्दछ, हामी दृढतापूर्वक लोकतान्त्रिक प्रणालीको साथै साझा विश्वव्यापी मूल्यहरूको रक्षा गर्नेछौं।’
उनले ताइवानले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि जी७ राष्ट्रको कार्यमा योगदान गर्ने पनि बताए।
हालै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बी३डब्लू योजनाको विषयमा भनेको थियो,‘बी३डब्लूको दायरा विश्वव्यापी हुनेछ, यो ल्याटिन अमेरिका र क्यारिबियनदेखि अफ्रिका र इन्डो–प्यासिफिक क्षेत्रसम्म फैलिनेछ।’
अमेरिकाले पछिल्लो समय खुला र शान्त इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएको छ। क्वाड समूह निर्माण गरेको अमेरिकाले यतिबेला बी३डब्लू योजनामा पनि इन्डो–प्यासिफिक क्षेत्रलाई अटाएको हो।
तर आइतबार मात्र क्वाड र जी७ समूहलाई लक्षित गर्दै चीनले ती साना समूहरुले अथवा सीमित राष्ट्रले पुरै विश्वमा शासन गर्न नसक्ने बताउँदै भनेको थियो,‘साना समूहले विश्वव्यापी निर्णयहरु निर्धारण गर्ने दिनहरु बितिसके। हामी जहिल्यै यो विश्वास गर्छौ कि देश सानो होस या ठूलो, कमजोर होस् या बलियो, धनी अथवा गरिब सबै बराबर हुन् र वैश्विक मामिलाहरू सबै देशहरूको परामर्श मार्फत व्यवस्थापन गरिनुपर्छ।’
जी७ ले उठान गरेको सिनजियाङको मानवअधिकार, हङकङको स्वतन्त्रता तथा ताइवानको विषयमा भने चीनले पहिल्यैबाट ती विषय नितान्त आन्तरिक मामिला भएको बताउँदै आएको छ।
यो विषयमा बोल्नु हस्तक्षेप हुने चीनको भनाइ छ। ताइवानले अन्तर्राष्ट्रिय समर्थन खुला रुपमा खोजेपछि चीनले ताइवानमाथि कडा नीति लिने अनुमान गरिएको छ।
पछिल्लो सयम चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा दोहोरिँदै घुस्ने गरेका छन्। अमेरिकासँग ताइवानको छलफल तथा सम्झौताहरु हुन थालेपछि चीन आक्रमक बनेको हो। एससीएमपी र एजेन्सीको सहयोगमा
यो पनिः चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्यो बी३डब्ल्यू योजना

प्रतिक्रिया