सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन्।
सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पीडित बनेको बताए। सांसद प्याकुरेलले आजबाट सुरुहुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्न माग गरे।
यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारतबीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन्। दुई देशबीच हुने सम्झौता ‘विन विन’को आधारमा हुनुपर्ने भन्दै जस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताइन्। आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने ओलीको भनाई छ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवी लामिछाने पक्राउ बिषयमा आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया