नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टी विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादमा रहँदा आफूहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन्।
आफूहरुले पार्टीको एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको उनको भनाइ छ।
एमालेको माधव नेपाल नेतृत्वको समूहतर्फ रहेका भूसाल ओली पक्षसँग निरन्तर संवादमा छन्।
उनी निकट योगेश भट्टराई ओलीतर्फ नरम बन्दै जाँदा भूसाल पनि ओली पक्षतर्फ लाग्नसक्ने अनुमान समेत गर्न थालेका बेला उनले यो धारणा राखेका हुन्।
‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन,’ उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन?’
उनले ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्’ भन्दै पार्टीभित्र चलखेल गर्ने व्यक्तिहरुप्रति लक्षित गर्दै भनेका छन्।
हिजो ओलीले सार्वजनिक गरेको पार्टी एकतासम्बन्धी ६ बुँदे प्रस्तावको योगेश भट्टराईले स्वागत गरेका थिए भने भूसालले अध्ययन गरेर प्रतिक्रिया दिने बताएका थिए।
तर नेपाल समूह अन्य अधिकांश नेताहरुले भने ओलीको प्रस्तावको कडा विरोध गरेका छन्।

प्रतिक्रिया