नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ।
प्रदेशमा ६ सांसद रहेको कांग्रेसका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बीसी आइतबार कर्णाली प्रदेश सरकारमा सहभागी भएका हुन्।
श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बिसीलाई दिइएको छ।
प्रदेश प्रमुख गोविन्द कलौनीले आइतबार दुबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। श्रेष्ठ र बीसीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
२०७४ मा भएको निर्वाचनपछि प्रदेश सरकारसहितको संघीय संरचनामा सरकारहरु बनेपछि कांग्रेस पहिलोपटक सहभागी भएको हो।
कम्युनिष्टहरुको गढ भनेर चिनिने र कांग्रेस सबैभन्दा कमजोर देखिएको प्रदेश कर्णालीबाट सरकारमा उसको पहिलो ‘इन्ट्री’ भएको छ।
योसँगै कांग्रेससहितको पहिलो गठबन्धनको सरकार पनि बनेको छ।
मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ ७ गते माओवादी केन्द्रसहितको गठबन्धनको सहयोगमा आफ्नो पक्षमा संसदको बहुमत जुटाएर प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गरेका थिए।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको समेत दाबी परेको र दुवैमा भरपर्दा आधार नदेखिएको भन्दै संसद नै विघटन गरेकी थिइन्। सो निर्णयविरुद्ध देउवासहितका १ सय ४६ सांसद अहिले सर्वोच्च अदालत पुगेका छन्। कांग्रेससहितको विपक्षी गठबन्धनले चुनावसम्मै गठबन्धन निर्माण गर्ने सहमति गरेका छन्।
यो पनिः
चार वर्षपछि सत्तामा फर्कियो कांग्रेस, कम्युनिष्ट गढ कर्णालीबाटै ‘इन्ट्री’

प्रतिक्रिया