नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको रुपमा उपयोग गरेको टिप्पणी गरेका छन्।
सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए।
पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतको भनाई छ।
मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेशी नेताको चरित्र अवसरवादी भएको आरोप पनि उनले लगाए।
कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनको आरोप छ।
प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरुको विश्वास रहेको पनि नेता महतले बताए।

प्रतिक्रिया