राजनीति


अप्ठेरोमा पर्दा वार्ताको कार्ड फ्याँक्ने ओलीसँग अलमलिनुको अर्थ छैनः माधव नेपाल

अप्ठेरोमा पर्दा वार्ताको कार्ड फ्याँक्ने ओलीसँग अलमलिनुको अर्थ छैनः माधव नेपाल

नेपालखबर
जेठ १९, २०७८ बुधबार १३:५९,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नो पक्षलाई अलमल्याउनका लागि वार्ताको कार्ड फ्याँकिरहेको बताएका छन्।

उनले ओली अहिले अप्ठेरोमा परेका कारण वार्ता गर्न भनी आफू पक्षका नेताहरुलाई अलमल्याएको बताएका थिए।

‘अहिले परिस्थिति केही प्रतिकूल हुने देखेर वार्ता सुरु गर्न खोजिएको हो,’ नेता नेपालले भने ‘राजावादी र भारतको इशारामा गतिविधि गरिरहेका ओलीलाई कांग्रेस, माओवादीसहित हामीले सञ्चालन गरेका गतिविधिले अप्ठ्यारो परेपछि वार्ता गरौं भनेर आएका हुन्।’

बुधबार एमालेका जनवर्गीय संगठनका नेताहरुसँग गरिएको भुर्चअल बैठकमा उनले सो धारणा राखेका हुन्।

‘बहुमत देखाउनका लागि चलाखीपूर्ण यो कदम चालेका हुन्, परिस्थिति सहज हुने वित्तिकै यो प्रक्रिया तोड्ने छन्,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले विद्यार्थी नेता सुदेश पराजुलीले भने।

नेता नेपालले विगतमा पनि अध्यक्ष ओलीले यस्तै गर्ने गरेका प्रसंगहरु बताएका थिए।

नेपालनिकट दोस्रो तहका केही नेताहरु अहिले पनि ओली पक्षसँग संवादमै रहिरहेका छन्।

यसअघि नेपाल पक्षले पार्टीलाई नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट पार्टीका संरचना ब्युँताउनुपर्ने माग राख्दै आएका थिए। ओली पक्षले सो मागलाई सिद्धान्ततः स्वीकार गर्ने बताउन थालेको छ।

तर केहि दिनदेखि नेपाल पक्षले अब जेठ २ बाट पार्टी ब्युँताउन तयार भएपनि आफूहरु ओली पक्षसँग सहमति गर्न तयार नरहेको जनाएको छ।

नेता नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ नेतालाई पार्टीबाट निष्काशन गरिएको, दोस्रो पटक संसद विघटन गरिएको लगायत कारण नयाँ परिस्थिति सिर्जना भएको नेपाल पक्षको दाबी छ।

नेता नेपालले ओली पक्षसँग वार्तामा रहेका नेताहरुसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिने बताएका छन्।

‘घनश्यामजीले केही बताउनु भएको छ। अन्य साथीहरुसँग कुराकानी गर्छु,’ नेता नेपालले भनेका थिए।

भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग सोमबार राति पनि होटल याक एन्ड यतिमा कुराकानी गरेका थिए।

सो अवसरमा दुई पक्षबीच चार घण्टासम्म सघन कुराकानी भएको बताइएको छ।

बैठकमा नेता नेपालले अध्यक्ष ओलीको गतिविधिका कारण अहिलेको समस्या आएको भनाइ दोहो¥याएका थिए।

‘अध्यक्ष आफै हुन्, आफू अनुकूल नहुने जनवर्गीय संगठन र जिल्ला कमिटीमा ओलीले समानान्तर गतिविधि गरेका कारण समस्या उत्पन्न भएको हो,’ नेता नेपालले सो भर्चुअल छलफलमा भनेका थिए।

सो छलफलमा सहभागी जनवर्गीय संगठनका नेताहरुले अब एमालेमा विवाद समाधान गर्न भनी ओली पक्षसँग वार्ता गर्नुको कुनै औचित्य नरहेका बताएका थिए।

एमाले विवाद समाधानका लागि गठित वार्ता टोलीमा नेपाल तर्फबाट संयोजक रहेका भीम रावललाई नै पार्टीबाट निष्काशित गरिसकेपछि अब ओली पक्षसँग वार्ता गर्नुको कुनै अर्थ नरहेको उनीहरुको तर्क थियो। 

छलफलमा सहभागी जनवर्गीय संगठनका नेताहरुले पनि वार्ता टोलीका संयोजक भीम रावललाई नै कारबाही गरेको अवस्थामा वार्ता गर्नुको औचित्य छैन भनी नेता नेपाललाई सुझाव दिएको पराजुलीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad