एमालेका नेतासमेत रहेका अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणको कारण निधन भएको छ।
मंगलबार बिहान गंगालाल अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए।
थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए। पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए।
कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको बसुन्धरामा बस्दै आएका थिए। थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। थापा एमालेको अर्थ तथा योजना विभागका सचिव थिए।
थापाको निधनप्रति एमालेका नेताहरुले दुःख व्यक्त गरेका छन्।
एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ट्वीट गर्दै भनेका छन्, ‘फेरी दु:खद खबर ! मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा. गोविन्द थापाको निधनको खबरले स्तब्ध वनायो । कमरेड थापा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ! हामी तपाईको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं!’
Shares

प्रतिक्रिया