राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि लुम्बिनी प्रदेशमा आयोजित उपनिर्वाचनअन्तर्गत अहिले मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेका मतदान केन्द्रमा मतदान भइरहेको हो। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ।
यसअघि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका कारण पार्टीले उनलाई दल त्यागको कारबाही गरेपछि त्यो पद खाली रहेको हो। त्यही रिक्त स्थान पूर्तिका लागि आज उपचुनाव भइरहेको हो।
मतदान सकिएलगत्तै मत गणना सुरु गर्ने र परिणाम आजै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
यसअघि बागमती प्रदेशमा भएको उपनिर्वाचनको नतिजा पनि त्यही राति सार्वजनिक गरिएको थियो।
जुन निर्वाचनमा एमालेका उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्दै विपक्षी दलको समर्थनमा उम्मेदवार बनेका एमालेकै डा। खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका छन्। माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका कारण यसअघि राष्ट्रिय सभा सदस्य रहेका थापा कारबाहीमा परेपछि उपनिर्वाचन गरिएको थियो।
लुम्बिनीमा कसले जित्ला?
बागमती प्रदेशमा जस्तै लुम्बिनीमा पनि एमालेले माओवादी केन्द्रले निष्कासन गरेका नेता चन्द्रबहादुर खड्कालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका नेता दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन्। यसअघि एमाले नेता पाण्डे पनि गत वैशाखमा मात्र लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका हुन्।
खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको छ भने पाण्डेलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
यस्तो छ मतको अंकगणित
निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा हाल कायम सदस्य संख्या ८३ छ। एक जना प्रदेश सभा सदस्यको मतभार ४८ हुने भएकाले ८३ जनाको कूल मतभार ३ हजार ९ सय ८४ हुन्छ।
यस्तै मतदानमा गर्न पाउने स्थानीय तहका प्रमुखरउपप्रमुख २१७ जना छन्। जसको कूल मतभार ३ हजार ९ सय ६ हुन्छ। प्रदेश सभा र स्थानीय तहको जम्मा मतभार ७ हजार ८ सय ९० हुन्छ।
विपक्षी गठबन्धनतर्फ
प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्। यस हिसाबले प्रदेश सदस्यबाट कांग्रेस र माओवादी केन्द्रका मतभार समान ९ सय १२/९ सय १२, जसपा यादव–भट्टराई समूहको मतभार ९६ र राष्ट्रिय जनमोर्चाको मतभार ४८ गरी विपक्षी गठबन्धनको कूल मतभार १ हजार ९६८ हुन्छ।
यस्तै स्थानीय तहमा कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५ जनप्रतिनिधि ९मतदाता० छन्। एक जनप्रतिनिधि बराबर मतभार १८ हुन्छ। यस हिसाबले विपक्षी गठबन्धनसँग स्थानीय तहतर्फ कूल मतभार १ हजार ९९८ छ। प्रदेश सभा र स्थानीय तहको कूल मतभार ३ हजार ९ सय ८४ हुन्छ।
एमालेतर्फ
लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य छन्। जसको मतभार १ हजार ८ सय २४ हुन्छ। यसअघि दल त्यागको कारबाहीमा परेका भनिएका जसपाको ठाकुर पक्षका मन्त्रीसमेत रहेका ४ जना प्रदेश सांसदलाई पनि आइतबार दिउँसो निर्वाचन आयोगले मतदान गर्ने अधिकार दिएकाले उनीहरूको मतभार १९० हुन्छ। यसले गर्दा एमालेका उम्मेदवारतर्फ प्रदेश सदस्यको कूल मतभार २ हजार १४ पुग्छ।
यसैगरी स्थानीय तहतर्फ एमालेका ९४ जनप्रतिनिधि छन्। जसको जम्मा मतभार १ हजार ६ सय ९२ हुन्छ।
यस अतिरिक्त जसपाको ठाकुर पक्षले पनि स्थानीय तहमा आफ्ना ६ जना जनप्रतिनिधि रहेको दाबी गरेको छ। जसको मतभार १०८ हुन्छ। लुम्बिनी प्रदेशका स्थानीय तहमा स्वतन्त्रका ४ जना, यस्तै राप्रपाका २ र नयाँ शक्तिका एक जनप्रतिनिधि पनि एमाले उम्मेदवारकै समर्थनमा छन्। जसको मतभार १२६ हुन्छ। यी सबै गर्दा जम्मा मतभार १ हजार ९२६ हुन्छ। प्रदेश सभा र स्थानीय तह दुवैको कूल मतभार ३ हजार ९ सय ४० हुन्छ।
यति गर्दा पनि विपक्षीभन्दा कम नै हुन्छ भने एमालेकै माधव नेपाल पक्षका मतदाताले बागमती प्रदेशमा जस्तै विपक्षी उम्मेदवारलाई नै मतदान गर्ने सम्भावना प्रबल छ।
यसैबीच दल त्यागको कारबाहीपछि सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेका जसपाका ४ प्रदेश सांसदलाई मतदानको अघिल्लो दिन आइतबार मतदाता सूचीमा समेटिनु गलत भन्दै विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाडेले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
Shares

प्रतिक्रिया