राजनीति


चितवनमा भइरहेका अराजक गतिविधि परिवर्तन विरोधीः नेकपा

चितवनमा भइरहेका अराजक गतिविधि परिवर्तन विरोधीः नेकपा

नेपालखबर
भदौ २, २०७६ सोमबार ११:४९,

चितवनमा पछिल्लो समय भइरहेका प्रदर्शनप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ तथा सचिव कृष्णभक्त पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै ‘पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरी धमिलो पानीमा माछा मार्न भइरहेको चलखेल स्वीकार्य नभएको बताएका हुन्।

‘सामान्य परिस्थितिलाई असामान्य बनाउने र अनुसन्धान तथा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा त्यसक्रममा लगाइएका नाराहरु परिवर्तन विरोधी छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकैविरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीको ठहर छ।’

नेकपा चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायतका ३ जना व्यक्तिहरुलाई चितवन प्रहरीले अनुसन्धानका लागि अदालतको आदेशले न्यायिक हिरासतमा राखेको अवस्थामा चितवनमा भएको हुलहुज्जत र त्यसले सिर्जना गरेको परिस्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीको नामै किटेर भएका नारावाजी प्रतिक्रियावादीको चलखेल भएको विज्ञप्तिमा उल्लेख छ।

‘हामी चितवनलाई शान्ति र अमनचयन कायम राख्न प्रशासन लगायत आम जनसमुदायलाई अपिल गर्दछौं। कुनै पनि बहानामा भएका यस्ता अराजक गतिविधिमा संलगन नहुन सदस्य, सर्थक तथा शुभेच्छुकमा हार्दिक अपिल गर्दछौं।’

पत्रकार पुडासैनी गत साउन २० गते चितवनस्थित होटल क‌ंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै पत्रकार रवि लामिछानेसहित तीनजनालाई पोलेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन लगेको छ।

लामिछानेको समर्थनमा उनका समर्थकले चितवनमा उग्र प्रदर्शन गरिरहेका छन्। प्रहरीमाथि ढुंगामुडा गर्ने, राजमार्ग अवरूद्ध पार्नेसहितका हर्कत भएका छन्। यसले घटनाको निष्पक्ष अनुसन्धान र न्याय निरूपणमा खलल पुग्ने भन्दै चिन्ता व्यक्त भइरहँदा सत्तारूढ नेकपा जिल्ला कमिटीले वक्तव्य निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad