सभामुख अग्निप्रसाद सापकोटाले असाधारण परिस्थितिमा आफूले नेपाली जनताले दिएको अधिकार प्रयोग गर्ने बताएका छन्।
बिहीबार कानुनविदहरुसँगको छलफलका क्रमममा सभामुख सापकोटाले जनताले प्रतिनिधि सभा सदस्यलाई सार्वभौम अधिकार सुम्पिएको भन्दै सो अधिकार आफूबाट अभिव्यक्त हुनुपर्ने बताए।
सभामुख सापकोटाले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ।’
उनले राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रित भएर अभिव्यक्त हुने भएकाले आफूले राजनीतिक पार्टीहरुसँग छलफल थाल्नेपनि जानकारी दिए।
आफूहरु प्रतिनिधि सभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेशबाट चलाउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे। अध्यादेशबाट चलाउन खोज्नु बेठिक भएको उनको भनाइ छ। उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधि सभाको अधिकारको हनन भएको बताए।

कानुनविद्हरुसँगको छलफलले आफूलाई सहयोग पुर्याएको सभामुख सावकोटाको भनाइ थियो। पुनर्स्थापित संसदमा प्रभावकारी भूमिका हुन नसकेको उनले स्वीकारे। यद्यपी अहिले पहलकदमी बढको उनको भनाइ छ।
सभामुख सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार नै आफू चल्ने स्पष्ट पारे।
Shares

प्रतिक्रिया