द प्रिन्टका अनुसार भारतीय सेनाले चाँडै चारवटा हेरोन टीपी ड्रोन इजरायलबाट भाडामा प्राप्त गर्नेछ। सो ड्रोनले चीनसँगको विवादित सीमा क्षेत्रमा निगरानी गर्ने जनाइएको छ।
चिनियाँ गतिविधि निगरानी गर्ने योजनाअनुसार भारतले इजरायलबाट ड्रोनसँगै अन्य हतियार पनि भाडामा लिनेछ।
हेरोन टिपी राफेल युद्धक विमान जत्तिकै १४ मिटर लामो छ। तर यो मानवरहित हुन्छ। यो हतियार इजरायलको एरोस्पेस इन्डस्ट्रीजले विकास गरेको हो।
सबै मौसममा प्रयोग गर्न सकिने यो ड्रोनले मध्यम उचाईमा लामो समयसम्म काम गर्नसक्छ। परिस्थिती अनुसार यसमा शक्तिशाली हतियार जडान गर्न सकिन्छ। यसले तीव्र गतिमा आक्रमण गर्नसक्दछ।
तर यतिबेला भारतले भाडामा लिन लागेको ड्रोनमा भने हतियार राख्न नमिल्ने बताइएको छ। यद्यपी यसले सीमामा चीनको घुसपैठको राम्रो निगरानी गर्नसक्छ।
द प्रिन्टका अनुसार दुई ड्रोन भारतले चाँडै प्राप्त गर्नेछ। साथै अन्य दुई भने पहिलो ड्रोन पठाइएको तीन महिनाको अवधि भित्र भारतले प्राप्त गरिसक्नेछ।
भारत र चीनका सेनाबीच गतवर्षको जुन १५ मा लद्दाख नजिकैको विवादित क्षेत्रमा हिंस्रक झडप भएको थियो।
गलवान उपत्यकालाई दुवै राष्ट्रले आफ्नो भएको दाबी गर्दछन्। सो क्रममा त्यहाँको एलएसीमा झडप हुँदा २० भारतीय र ४ चिनियाँ सेनाको ज्यान गएको थियो।
जाडो महिना लागेसँगै दुई देशबीचको विवाद साम्य भएको थियो। अहिले गर्मी महिना लागेसँगै सो हिमाली क्षेत्रमा दुवै देशका सेना फेरि सक्रिय भएका छन्।
सो क्रममा चिनियाँ सेनाले तिब्बती क्षेत्रमा हतियारहरु तैनाथ गर्न थालेको समचार आइरहँदा भारतले इजरायलबाट ड्रोन भाडामा लिएर चिनियाँ गतिविधि नियाल्ने भएको हो।
इजरायलका हतियार भरपर्दो मानिन्छन्। हालै इजरायल र प्यालेस्टाइनको हमास समूहबीच रकेट हानाहान भएको थियो।
सो क्रममा इजरायल आफैंले विकास गरेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका कारण हमासका सयौं रकेट आकाशमै असफल पारिएका थिए। द प्रिन्ट

प्रतिक्रिया