नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुम मार्फत् आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले महाधिवेशन समयमै गर्न विभिन्न विकल्पहरु प्रस्तुत गरे।
संविधानत: निर्धारित मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले हालसम्म टुंगो लागेका क्रियाशील सदस्यहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाएर महाधिवेशन गर्न सकिने विकल्प अघि सारे।
त्यस्तै १३ औँ महाधिवेशनकै प्रतिनिधिबाटै भएपनि महाधिवेशन गर्नुपर्ने उनले बताए। एक वर्षे कार्यकालका लागि भएपनि महाधिवेशन गर्नुपर्ने नेता पौडेलले बताए।
लोकतन्त्र र राष्ट्र बचाउनुपर्ने सवाल अहिलेको प्रमुख सवाल रहेको भन्दै राष्ट्र बनाउने मुख्य शक्ति नेपाली कांग्रेस भएको उनको भनाई थियो। कांग्रेस सक्षम र एकताबद्ध हुन सकेन भने लोकतन्त्र र राष्ट्रको रक्षा गर्न नसकिने पनि उनले बताए।
उनले भने, ‘आज लोकतन्त्र बचाएर राष्ट्र बचाउने सवाल छ। त्यो बचाउने मूल शक्ति भनेको नेपाली कांग्रेस हो। लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस सक्षम हुन सकेन, सवल हुन सकेन, एकतावद्ध हुन सकेन भने यो लोकतन्त्र र राष्ट्रको रक्षा गर्नेकुरा कमजोर पर्न जान्छ।’

प्रतिक्रिया