नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक रुपमा भएको प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले बदर गर्ने बताएका छन्।
प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध बहुमत सांसद सर्वाेच्च गएको र त्यसलाई अदालतले न्याय दिलाउने विश्वास लिएको बताएका हुन्।
संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री चयनको लागि राष्ट्रपतिबाट आह्वान भएपछि बहुमत १ सय ४९ सांसदको हस्ताक्षर लिएर गएको तर त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी पुग्दैन भनेर खारेज गरिदिएकोमा पनि देउवाले असन्तुष्टि जनाएको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालखबरलाई जानकारी दिए।
‘राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार प्रतिनिधि सभाको सांसदलाई प्रधानमन्त्रीमा विश्वास रहेको आधार पेश गर्न आह्वान भएपछि हामीले बहुमत १ सय ४९ जनाको हस्ताक्षर लिएर निवेदन दियौँ’, देउवाले सम्बोधनका क्रममा भने, ‘तर, सो निवेदनलाई विज्ञ, कानुनविद्सँग छलफल नगरी राष्ट्रपतिले खारेज गरेर असंवैधानिक काम गर्नुभयो।’
देउवाले प्रधानमन्त्रीको सबै प्रस्तावमा राष्ट्रपतिले काम गरेको समेत आरोप लगाए।
आफूहरु अहिले बहुमत सांसद अदालतमा सशरीर उपस्थित भएको उनले बताए।

प्रतिक्रिया