प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चुनाव गर्नु अग्रगमन भएको जिकिर गर्दै यो रोक्न खोज्नुचाहिँ प्रतिगमन भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गरी दुई चरणको चुनाव घोषणा गरेकी छन्।
जननिर्वाचित संसद् असंवैधानिक रूपले भंग गर्दै यस्तो महामारीका बेला निर्वाचन घोषणा गरेर मुलुकलाई प्रतिगमनतिर लगिएको भनेर विपक्षी दललगायत विभिन्न पक्षले सरकारको तीव्र विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले विरोधकर्ताहरूलाई चाहिँ प्रतिगनकारीको आरोप लगाएका हुन्।
आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्षको भएको उल्लेख गर्दै उनले अवधि पूरा भएर गर्न पाएको भए अझ राम्रो, तर अगाडि नै गर्दा पनि चुनाव गर्नु भनेको अग्रगमन नै भएको जिकिर गरेका हुन्।
सोमबार उनले भनेका छन्, ‘अनेक बहाना निकालेर निर्वाचन टार्न खोज्नुचाहिँ प्रतिगमन हो र लोकतान्त्रिक मान्यताविपरीत पनि हो।’
संसद् विघटनविरुद्ध एमालेको माधव नेपाल पक्षसमेतको सहभागितामा नेपाली कांग्रेससहित ५ दलले सोमबार सर्वाेच्च अदालतमा मुद्दा हालेका छन्।

प्रतिक्रिया