राजनीति


रास्वपा बागमतीमा मतदान सुरु, सभापतिमा लामिछाने र अर्यालबीच प्रतिस्पर्धा

रास्वपा बागमतीमा मतदान सुरु, सभापतिमा लामिछाने र अर्यालबीच प्रतिस्पर्धा

सुनिता विष्ट
जेठ ३०, २०८३ शनिबार १५:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 

काठमाडौँको धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत मतदान भइरहेको छ। आज बेलुका ५ बजेसम्म मतदान चल्ने निर्वाचन आयोगले जनाएको छ।

रास्वपा प्रदेश सभापति पदका लागि अच्युतम लामिछाने र उत्सव अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ। सुरुवातमा चार जनाले सभापतिमा दाबी गरे पनि कृष्णमान शाक्य र हरिबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका थिए। 

उम्मेदवारी फिर्ता लिएका शाक्य र खत्री दुवैले उत्सव अर्याललाई सहयोग गर्ने बताएका छन्। खत्रीले सार्वजनिक रूपमा नै अर्याललाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने शाक्यले पनि नैतिक रूपमा अर्याललाई सहयोग गर्नुपर्ने बताएका छन्। यससँगै निर्वाचनअघि अर्याल पक्षले थप बल पाएको दाबी गरिएको छ।

अर्कोतर्फ संस्थापन पक्षका रूपमा हेरिएका लामिछाने पनि आफ्नो पक्षमा प्रतिनिधिको समर्थन रहेको दाबी गरिरहेका छन्। दुवै पक्षले मतदानअघि प्रतिनिधिसँग व्यापक छलफल र भेटघाट गरेका थिए।

मंगलबार हेटौँडामा सुरु भएको बागमती प्रदेश अधिवेशन विवाद र प्राविधिक कारणले स्थगित भएपछि निर्वाचन प्रक्रिया काठमाडौँमा सारिएको हो। आजको मतदानबाट सभापति तथा प्रदेश सदस्य चयन हुनेछन्। 

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुने तथा निर्वाचित सदस्यमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।

बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। यस निर्वाचनलाई रास्वपाको शक्ति सन्तुलन निर्धारण गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ। 

सभापति पदका दाबेदार लामिछाने रास्वपाको संस्थापन पक्षका हुन् भने अर्याल समायोजन भएर आएका इतर पक्षका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad