राजनीति


विकल्पका नाममा वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ: सीके राउत

विकल्पका नाममा वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ: सीके राउत

नेपालखबर
जेठ ३०, २०८३ शनिबार १६:७, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको बताएका छन्। 

काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गरे। राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा उनले जोड दिए।
हालको राजनीतिक अवस्थालाई ‘विचारशून्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको उनको भनाइ थियो। 

‘हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ,’ डा. राउतले भने। 

संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताए। 

अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गरेका छन्। भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ थियो। 

‘जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्छ, तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश हो,’ उनले भने। 

पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको विश्लेषण छ।

‘हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ,’ उनले भने, ‘यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ।’

प्रविधि र नयाँ जमानाको सञ्चारशैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपु¥याउने भन्दै उनले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad